मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय गण्डकी प्रदेशको पोखरामा २०८२ पुस १६ गते स्थापना गरिएको छ ।

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि अन्य क्लस्टर र महिला खुला क्लस्टरबाट प्रतिनिधित्व हुने गरी दुई पदमा निर्वाचन हुन लागेको हो ।

सो निर्वाचनका लागि मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेश पोखराको कार्यालयलाई तोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत हिमलाल वेल्वासेले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ लाई सफल बनाउन मतदाता तथा सरोकारवाला पक्षले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन प्रचार–प्रसार गर्न आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

निर्वाचन अधिकृत वेल्वासेले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपिल गर्नु भयो । साथै उहाँले निर्वाचन ऐन, २०७५ को दफा ६ बमोजिम निर्वाचन कार्यक्रम तय गरिएको जानकारी दिनु भयो ।

निर्वाचन कार्यक्रम अनुसार २०८२ पुस १९ गते मतदाता नामावली उपर दाबी–विरोधका उजुरी दिन सकिनेछ ।

प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्न दरखास्त दिन सक्नेछन् भने नाम, थर, उमेर वा पद सच्याउनुपर्ने भएमा पनि निवेदन दिन सकिनेछ ।

साथै प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा समेत उजुरी दिन सकिने व्यवस्था गरिएको छ । ती निवेदन तथा उजुरीमाथि छानबिन र कारबाही पश्चात अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि उम्मेदवारको मनोनयनपत्र दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारविरुद्ध उजुरी दिने, मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नाम फिर्ता लिने प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

अन्तिम नामावली प्रकाशन पश्चात उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन अधिकृतले जानकारी दिनु भयो ।

प्रदेश निर्वाचन कार्यालय, गण्डकी पोखराका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचनको तयारी र कार्यतालिकाबारे जानकारी दिँदै राष्ट्रिय सभा सदस्य पदको निर्वाचन, २०८२ प्रयोजनका लागि २०८२ माघ ११ गते मतदान हुने बताउनु भयो ।

गण्डकीमा प्रदेशसभा सदस्य ५९ जना तथा स्थानीय तहका जनप्रतिनिधि (नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष) १ सय ७० जना गरी कुल २ सय २९ जना रहेका छन् ।

गण्डकी प्रदेशमा मतदाता
प्रदेशसभामा कांग्रेसका २७, एमालेका २१, नेपाली कम्युनिष्ट पार्टीका आठ, राप्रपाका दुई र नेपाल समाजवादी पार्टीका एक जना गरी ६० जना तथा स्थानीय तहमा कांग्रेसका ६७, एमालेका ६८, नेपाली कम्युनिष्ट पार्टीका ३१, राष्ट्रिय जनमोर्चाका तीन र स्वतन्त्र एक गरी १ सय ७० जना मतदाता छन् ।

यस पटक मतभार प्रदेश सभातर्फ ५३ र स्थानीय तहतर्फ १९ तोकिएको उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश तथा जिल्लाका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चालगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, चार ओटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रदेश निर्वाचन कार्यालय, गण्डकी पोखराका सूचना अधिकारी रूद्र न्यौपानेले गर्नुभएको थियो ।

Author

Related News