मानव आवाज

२०८३ असोज १२ गते
00: 00: 00
२०८३ असोज १२ गते

अधिकारसँगै सशक्तीकरणमा जोड दिनुपर्छ : उपाध्यक्ष गुरुङ

पोखरा । दलित महिलालाई संविधानले दिएका अधिकारबारे सचेत बनाउँदै अधिकारसँगै सशक्तीकरणलाई अघि बढाउनुपर्नेमा रूपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले जोड दिनुभएको छ ।

दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजनामा ‘जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध’ भन्ने नारासहित स्थानीय सरकारको नीति, योजना तथा बजेट एवम् आर्थिक वर्ष २०८२/८३ मा दलित महिलासँग सम्बन्धित सञ्चालित कार्यक्रमबारे सरोकारवालाबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम तालचोकमा सम्पन्न भएको हो ।

कार्यक्रममा उपाध्यक्ष गुरुङले संविधानले दलित महिलाका लागि विभिन्न अधिकार सुनिश्चित गरे पनि ती अधिकारबारे पर्याप्त जानकारी नहुँदा कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

उहाँले दलित महिलाहरू आफ्ना अधिकारबारे जागरुक हुनुपर्ने र अधिकार प्राप्तिसँगै आर्थिक तथा सामाजिक रूपमा सशक्तीकरणतर्फ पनि अघि बढ्नुपर्ने बताउनुभयो ।

रूपा गाउँपालिकाले दलित महिलाको सशक्तीकरणका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिँदै उहाँले अघिल्लो आर्थिक वर्षमा यसका लागि ९ लाख रुपियाँ विनियोजन गरिएको बताउनुभयो ।

विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेको उल्लेख गर्दै आगामी वर्ष कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा रूपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ मा दलित महिलासँग सम्बन्धित सञ्चालन गरिएका कार्यक्रमबारे प्रस्तुति दिनुभएको थियो ।

दलित महिला सङ्घ (फेडो) कास्कीकी अध्यक्ष लक्ष्मी खाती परियारको अध्यक्षतामा भएको कार्यक्रममा सहायक शर्मिला सुनार रसाइलीले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन संयोजक तनुजा परियारले गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार