मानव आवाज

२०८३ जेष्ठ ६ गते
00: 00: 00
२०८३ जेष्ठ ६ गते

एकता, ट्रेड युनियन अधिकार र समाजवादी अभियानमा जोड

काठमाडौँ । पेसागत महासङ्घ नेपालले आफ्नो ३२औँ स्थापना दिवस मनाउँदै पेसागत आन्दोलनको इतिहास, उपलब्धि र भावी दिशाबारे चर्चा गरेको छ ।

महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालले स्थापना दिवसका अवसरमा जारी गरेको सन्देशमा पेसागत आन्दोलनले लोकतन्त्र, ट्रेड युनियन अधिकार र पेशाकर्मीका हकहितका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

विसं २०४६ सालको जनआन्दोलनपछि पेसागत सङ्गठनहरू खुल्ने क्रमसँगै विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीले आफ्ना अधिकारका लागि सङ्घर्ष थालेका थिए ।

त्यही पृष्ठभूमिमा साझा मुद्दामा एकता र समन्वयको आवश्यकता महसुस गर्दै २०५२ सालमा पेसागत महासङ्घ नेपालको स्थापना भएको थियो ।

महासङ्घले विगत तीन दशकमा विभिन्न महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । उच्चस्तरीय तलब सुविधा आयोगमा प्रतिनिधित्व, श्रमिक अधिकारका पक्षमा कानुनी पहल, मे दिवसमा सार्वजनिक बिदाको व्यवस्था, अन्तर्राष्ट्रिय ट्रेड युनियन सङ्गठनहरूसँग सम्बन्ध विस्तार, आफ्नै भवन निर्माण तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्वलाई महासङ्घले आफ्नो उपलब्धिका रूपमा उल्लेख गरेको छ ।

अध्यक्ष खनालले लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनाको अभियानमा पनि महासङ्घले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै श्रमिक तथा पेशाकर्मीका अधिकारलाई संस्थागत बनाउन निरन्तर सङ्घर्ष गर्दै आएको बताउनुभयो ।

यसैबिच उहाँले वर्तमान सरकारले अध्यादेशमार्फत निजामती क्षेत्रमा ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

यस्तो कदम लोकतान्त्रिक मूल्य, संविधान तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका मान्यताविपरीत रहेको दाबी गर्दै उहाँले यसविरुद्ध कानुनी र सङ्गठनात्मक सङ्घर्ष जारी रहने बताउनुभएको छ ।

महासङ्घले श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, अस्थायी तथा आउटसोर्सिङ प्रणालीको अन्त्य गर्ने, राष्ट्रिय श्रम आयोग गठन गर्ने तथा श्रमिकमैत्री नीति लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

स्थापना दिवसका अवसरमा अध्यक्ष खनालले सम्पूर्ण पेशाकर्मीबिच एकता, मित्रता र सद्भाव कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै “एकता नै शक्ति हो” भन्ने मूल मन्त्रलाई आत्मसात् गरेर अघि बढ्न आह्वान गर्नुभएङ्को छ ।

Author

Related News