मानव आवाज

२०८३ भदौ २९ गते
00: 00: 00
२०८३ भदौ २९ गते

बाढीपीडित बालबालिकाको सुरक्षा र संरक्षणमा जोड

पोखरा । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ ६२औँ राष्ट्रिय बाल दिवसका अवसरमा बाल अधिकार मञ्च कास्कीको आयोजना तथा टिम अर्गनाइजिङ लोकल इन्स्टिच्युसन (टोली) को संयोजनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका-७, सहिदचोकमा सोमबार आयोजित कार्यक्रममा २०८३ भदौ १० गते रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका बालबालिका तथा नागरिकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा दिवङ्गतहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो ।

कार्यक्रममा टोली पोखराका अध्यक्ष पद्मकिरण राणाले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीले पुर्‍याएको अपूरणीय क्षति र त्यसबाट बालबालिकामा परेको गम्भीर असरबारे जानकारी गराउनुभयो ।

विपद्का समयमा बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने उल्लेख गर्दै उहाँले उनीहरूको तत्काल उद्धार, मनोसामाजिक परामर्श तथा आधारभूत आवश्यकताको परिपूर्तिमा राज्य र सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष राणाले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा गरी करिब ६५ हजार नागरिक प्रभावित भएका छन् ।

युनिसेफको प्रारम्भिक विवरणअनुसार विपत्तिबाट करिब ६ सय बालबालिका सम्पर्कविहीन भएका छन् ।

तीमध्ये रसुवाका २ सय ८० र नुवाकोटका ३ सयदेखि ३ सय ५० जना रहेका छन् । नुवाकोटको विदुर नगरपालिकामा मात्रै २ सय ५० बालबालिका बेपत्ता भएको विवरणमा उल्लेख छ ।

विपत्तिले बालबालिकाको शैक्षिक भविष्यमा समेत ठूलो असर पारेको छ । शिक्षा सञ्जालका अनुसार रसुवा, नुवाकोट र धादिङका १ सय ७७ ओटा विद्यालय प्रभावित भएका छन् ।

तीमध्ये नौ ओटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । पूर्ण क्षति भएका विद्यालयमा ६ ओटा सामुदायिक, दुई ओटा निजी र एउटा धार्मिक विद्यालय रहेका छन् ।

रसुवा, नुवाकोट र धादिङका ३२ ओटा विद्यालयका करिब १ हजार ९ सय विद्यार्थीको पढाइ पूर्ण रूपमा प्रभावित भएको जनाइएको छ ।

रसुवा र नुवाकोटका आठ ओटा विद्यालयलाई हाल अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले समेत यस वर्षको बाल दिवसमा औपचारिक उत्सवभन्दा बाढीबाट प्रभावित बालबालिकाको बालमैत्री उद्धार, राहत तथा संरक्षणलाई प्राथमिकता दिन आह्वान गरेको छ ।

हराएका बालबालिकाको खोजतलास तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिनसमेत परिषद्ले आग्रह गरेको छ ।

​कार्यक्रममा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि,अधिकारकर्मी तथा नागरिक अगुवा,  गैरसरकारी संस्था महासङ्घ, मानवअधिकार तथा बालअधिकार क्षेत्रमा क्रियाशील संस्थाहरू, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), चिल्ड्रेन नेपाल, कोपिला नेपाल, एएएचटीसीएच, भ्वाइस अफ चिल्ड्रेन , सीडब्ल्युएसएन  र सीबीआरएस  लगायत विभिन्न सक्रिय सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार