मानव आवाज

२०८३ श्रावण ३१ गते
00: 00: 00
२०८३ श्रावण ३१ गते

महिलामहिलाबिच मात्रै प्रतिस्पर्धा गराउने कानुनी व्यवस्था गर्नुपर्नेमा जोड

पोखरा । निर्वाचनमा महिलामहिलाबिच मात्रै प्रतिस्पर्धा हुने गरी कानुनी वा संवैधानिक व्यवस्था गर्न सके सीमान्तकृत, दलित, जनजाति तथा योग्य महिलालाई नेतृत्वमा पुग्न सहज हुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

२०८३ साउन ३१ गते पोखरा महानगरपालिका-७ को सभाकक्षमा सम्पन्न महिलाका लागि नेतृत्व विकास तथा कानुनी परामर्शसम्बन्धी तालिममा सहभागीहरूले यस्तो कुरा बताएका हुन् ।

तालिमले महिलामा नेतृत्व क्षमता विकास गर्नुका साथै उनीहरूलाई कानुनी अधिकार, न्यायमा पहुँच तथा विभिन्न कानुनी प्रावधानबारे महत्वपूर्ण जानकारी प्रदान गरेको छ ।

तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा अन्तर्गतको सामाजिक विकास तथा कृषि समितिकी सभापति दमयन्ती रुचालले महिला, दलित, जनजाति, सीमान्तकृत तथा पिछडिएका महिलाको सहभागिता सुनिश्चित गर्न यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

उहाँले महिलाहरूले राजनीतिक सहभागिता सुनिश्चित गर्न पार्टीगत विभाजनभन्दा माथि उठेर महिलाका साझा सवालमा एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

फरकफरक राजनीतिक दलबाट प्रतिनिधित्व गर्दा पनि प्रमुख तथा उपप्रमुखजस्ता पदमा महिलाको प्रतिनिधित्व अपेक्षाकृत न्यून रहेको भन्दै आगामी स्थानीय निर्वाचनमा यस विषयमा सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

आगामी स्थानीय निर्वाचनमा महिलाको जनसङ्ख्याको अनुपातअनुसार प्रतिनिधित्व सुनिश्चित गर्न समुदायस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गरी आवाज उठाउनुपर्ने सभापति रुचालले बताउनुभयो ।

मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका सहसंयोजक तथा अधिकारकर्मी जुना केसीले समाजमा विद्यमान पुरुषप्रधान सोच हाबी रहेकाले महिलाहरू आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण दोहोरो चेपुवामा परेको बताउनुभयो ।

महिलाको नेतृत्व विकासका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने भन्दै उहाँले आगामी निर्वाचनमा दलित, सीमान्तकृत तथा पिछडिएका महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

फेडो गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायकले दलित, सीमान्तकृत तथा पिछडिएका महिलालाई मूलधारमा ल्याउन राज्यले विशेष प्राथमिकताका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

तालिममा सञ्जालकी अध्यक्ष तथा अधिवक्ता सरिता तिम्सिना पङ्गेनीले संविधान तथा महिलासँग सम्बन्धित कानुनी अधिकारका विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालको प्रभावकारी प्रयोगसम्बन्धी प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी अधिकारकर्मी ईश्वरी विकले नेतृत्व विकास तथा लैङ्गिक उत्तरदायी बजेट प्रस्तावना लेखनसम्बन्धी सहजीकरण गर्नुभएको थियो । तालिममा चारवटा समूहगत विषयमा छलफल तथा अभ्याससमेत गरिएको थियो ।

सहभागीका तर्फबाट प्रयत्न नेपालका केन्द्रीय सदस्य रोजिना घिमिरेले छोटो अवधिको भए पनि तालिम महिला दिदीबहिनीका लागि उपलब्धिमूलक र फलदायी रहेको बताउनुभयो ।

तालिममार्फत महिलाको नेतृत्व क्षमता विकास गर्नुका साथै कानुनी अधिकार, न्यायमा पहुँच तथा सामाजिक क्षेत्रमा प्रभावकारी सहभागिताका विषयमा जानकारी प्रदान गर्ने उद्देश्य रहेको कोषाध्यक्ष ईश्वरी चापागाईंले जानकारी दिनुभयो ।

सञ्जालकी अध्यक्ष तथा अधिवक्ता सरिता तिम्सिना पगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिलन भुजेलले स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव ईश्वरी विकले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News