मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

भयरहित वातावरणमा मतदानको सुनिश्चिततामा जोड

पोखरा । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयन, शान्ति-सुरक्षा, आपूर्ति व्यवस्थापन तथा राजनीतिक दलका गतिविधिको अनुगमन-पर्यवेक्षणसम्बन्धी समन्वय बैठक आयोगको सभाकक्षमा सम्पन्न भएको छ ।

आयोगकी पोखरा कार्यालय प्रमुख नितु गर्तौलाको अध्यक्षतामा २०८२ फागुन १३ गते बसेको बैठकमा विभिन्न निर्वाचन पर्यवेक्षण तथा स्थलगत अनुगमन गर्ने सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै कास्की जिल्ला सहित गण्डकी प्रदेशका ११ जिल्लामा स्वच्छ र भयरहित वातावरण सुनिश्चित गर्न मतदान प्रक्रिया सम्पन्न नभएसम्म निरन्तर अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रमुख गर्तौलाले आयोगले निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात् गरी तीन चरणमा अनुगमन टोली परिचालन गर्ने जानकारी दिनु भयो ।

नागरिक समाज गण्डकी तथा नियोग गण्डकीका संयोजक विष्णुप्रसाद बरालले मानव अधिकार र सामाजिक न्यायको दृष्टिले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबैको साझा दायित्व भएकाले पूर्णरूपमा पालना हुनुपर्नेमा जोड दिनु भयो ।

उहाँले पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल वा उम्मेदवारका कार्यक्रममा सहभागी हुन नहुने र सामाजिक सञ्जालमा पक्ष-विपक्षका पोस्टहरू सेयर, लाइक वा टिप्पणी नगर्न आग्रह गर्नु भयो ।

निर्वाचनका क्रममा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा खटिने कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्नेमा पनि बैठकले जोड दिएको छ ।

अधिकारकर्मी तथा मानव आवाजमा आबद्ध पत्रकार मधु पन्थीले नागरिक समाज तथा अधिकार क्षेत्रमा कार्यरत व्यक्ति र संस्थाहरूको भूमिकाबारे सामाजिक परीक्षण आवश्यक रहेको उल्लेख गर्दै निर्वाचनको स्वच्छता, पारदर्शिता र लोकतान्त्रिक वैधता सुनिश्चित गर्न पर्यवेक्षणको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का लागि राष्ट्रियतर्फ ३७ र अन्तर्राष्ट्रिय तर्फ चार गरी ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको छ ।

कास्की जिल्लाका लागि अनुमति प्राप्त संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी), नेपाल मानव अधिकार सङ्गठन लगायत रहेका छन् ।

बैठकमा सहसंयोजक विना शिलवाल, गैसस महासङ्घ गण्डकीका अध्यक्ष पदमराज पहारी, मानव अधिकार एलायन्स गण्डकी अध्यक्ष डा. बुद्धीबहादुर थापा, इन्सेक पोखराका संयोजक गणेश भण्डारी, जियोक संयोजक जुनाकुमारी गुरुङ, राष्ट्रिय अपाङ्ग महासङ्घका अरुण श्रेष्ठ, मानव अधिकारका लागि महिला एकल समूहकी अधिकृत सवनम शर्मा, आयोगका मानव अधिकार अधिकृत टङ्कप्रसाद खनाल तथा पत्रकार कमल पौडेल ‘अथक’ लगायतले समन्वय र सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिनु भयो ।

बैठकले निर्वाचनको दिन अनुगमनपछि संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । साथै, अनुगमन तथा पर्यवेक्षणसम्बन्धी सूचना आदानप्रदान र समन्वयका लागि मानवअधिकार आयोगको पोखरा कार्यालयमा सचिवालय गठन गरी संयोजकको जिम्मेवारी विष्णुप्रसाद बराललाई तोकेको छ ।

कास्की जिल्लामा प्रत्यक्षतर्फ ४४ पुरुष र पाँच महिला गरी ४९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन ओटै निर्वाचन क्षेत्रमा १ सय ५३ मतदानस्थल र ३ सय ६५ मतदान केन्द्र कायम गरिएको छ ।

Author

Related News