मधु पन्थी, पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रममा सरोकारवालाले लागू औषध न्यूनीकरणका लागि सहकार्यमा जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ७ को सहकार्यमा स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागू औषध दुरूपयोग विरूद्धको ऐक्यवद्धता भन्ने नाराका साथ लागु औषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवस-२०८२ सप्ताहव्यापी कार्यक्रम सहित २०८२ असार १२ गते सकिएको कार्यक्रममा सरोकारवालाले यस विषयमा जोड दिएका हुन् ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ सचेतना अभियानलाई स्थानीय स्तरमा व्यापक रूपमा परिचालन गरी तिनै तहको सरकारको समन्वय एवम् साझेदारीमा लागू औषधसम्बन्धी अन्तरक्रिया, छलफल, यसले पार्ने प्रभावका बारेमा निरन्तर कार्यक्रम बहस तथा पैरवी गर्नु पर्नेमा जोड दिनु भयो ।
सरकारको सहयोगमा एकीकृत अभियानबाट लागू औषध न्यूनीकरणमा औषधि व्यवसायी, स्थानीय समुदायको महत्त्वपूर्ण भूमिका एवम् आमनागरिकको दायित्व रहेको बताउनु भयो ।
तथ्याङ्कअनुसार १५ वर्ष उमेर माथिका किशोरकिशोरी लागू औषधबाट प्रभावित भएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कास्की जिल्लामा लागू औषध प्रयोगकर्ताहरूको सङ्ख्या अत्यधिक मात्रमा रहेको उल्लेख गर्नु भयो ।
शर्माका अनुसार कास्की जिल्ला लागू औषधको ५ औँ स्थानमा रहेकाले यसलाई शून्यमा ल्याउन सबैको पहलकदमी, दायित्व एवम् कर्तव्य बनेको छ ।
यसै सन्दर्भमा पोखरामा आयोजित प्रभातफेरी मुस्ताङचोकदेखि शुरू भई राष्ट्र बैङ्क चोक शहिदचोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीको प्राङ्गणमा पुगी समापन भएको थियो ।