पोखरा । बालहितकारी परियोजना नेपाल (सिडब्लुएसएन) ले बाल संरक्षण, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य तथा जोखिममा रहेका बालबालिकाको पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको छ ।
संस्थाको २६औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखाजोखा कार्यक्रममा बाल अधिकारको संरक्षण, संस्थागत पारदर्शिता र स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
पोखरा महानगरपालिका-१५ स्थित संस्थाको कार्यालय नयाँजनशक्ति टोलमा २०८३ असोज २७ गते साधारणसभा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको हो ।
२०५४ सालमा स्थापित संस्थाले शिक्षा, स्वास्थ्य, संरक्षण तथा पुनःस्थापनालगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले गर्नुभएको थियो । उहाँले अवसरबाट वञ्चित, सीमान्तकृत समुदायका बालबालिका, किशोरकिशोरी तथा अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारका लागि संस्थाले सञ्चालन गरेका गतिविधिको प्रशंसा गर्नुभयो ।
बालगृहमा प्रचलित मापदण्डअनुसारका बालबालिकालाई मात्र संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उहाँले बालबालिकालाई बालगृहमा सिफारिस गर्दा स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित पक्षले ऐन, नियमावली र मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने बताउनुभयो ।
सडक तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापनामा संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले जोखिममा रहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य सेवा र सुरक्षित आवास उपलब्ध गराउनु उनीहरूको भविष्य निर्माणका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । स्थानीय तह र सामाजिक सङ्घसंस्थाबीच सहकार्य तथा पारदर्शिता बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
संस्थाका अध्यक्ष रामचन्द्र शर्माले बालबालिका, किशोरकिशोरी तथा अपाङ्गता भएका व्यक्तिका अधिकार र मर्यादाको सम्मान हुने समुदाय निर्माण गर्ने उद्देश्यका साथ संस्था अघि बढिरहेको बताउनुभयो ।
आगामी आर्थिक वर्षमा बाल संरक्षण कार्यक्रमलाई निरन्तरता दिनुका साथै अपाङ्गता भएका बालबालिकाका क्षेत्रमा कार्यक्रम विस्तार गर्ने र प्रविधिमैत्री सेवा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
बालगृहमा २७ बालक, ३ सय १४ बालबालिकासँग कार्यक्रम
संस्थाका कार्यक्रम संयोजक तथा मानव संसाधन प्रमुख सूर्यबहादुर भण्डारीले आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण प्रस्तुत गर्दै पाँच ओटा प्रमुख कार्यक्रममार्फत काम गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाले बाल संरक्षण, उत्तरदायी विद्यालय, समुदायमा रहेका सवालको सम्बोधन, बाल संरक्षण पैरवी तथा आशा स्वास्थ्य सेवामार्फत गतिविधि सञ्चालन गरेको छ ।
हाल संस्थाको बालगृहमा २७ जना बालक आश्रित रहेको उहाँले बताउनुभयो । सडक तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार र संरक्षणसँगै सुरक्षित आवास, शिक्षा, स्वास्थ्य उपचार तथा मनोविमर्श सेवा उपलब्ध गराउने र उनीहरूलाई परिवार तथा समुदायमा पुनःस्थापना गर्न सहजीकरण गर्ने काम संस्थाले गर्दै आएको छ ।
पोखरा महानगरपालिका-१५ का उपल्लो अमिनतरा, नवजनशक्ति र अलकापुर क्षेत्रमा बालअधिकारसम्बन्धी सचेतना, लागुऔषध नियन्त्रण, स्थानीय समुदायको क्षमता अभिवृद्धि तथा बालबालिकाको अर्थपूर्ण सहभागिता प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडामा सञ्चालित बाल संरक्षण कार्यक्रमअन्तर्गत ३ सय १४ जना बालबालिकासँग काम गरिएको छ ।
बालबालिकाको जन्मदर्ता तथा नागरिकताजस्ता कानुनी पहिचान प्राप्त गर्न सहजीकरण गर्नुका साथै १६ जना बालबालिकालाई परिवार, आफन्त तथा अन्य संस्थाको समन्वयमा पुनःस्थापना गरिएको छ ।
विद्यार्थीको सिकाइ, नेतृत्व विकास र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन जीवनोपयोगी सीप तथा खेलकुदसम्बन्धी गतिविधि पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
बाल संरक्षणमा परिवार र समुदायको भूमिका महत्त्वपूर्ण
पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले महानगरले शिक्षा तथा बालबालिकाको विकासका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमबारे जानकारी दिनुभयो ।
उहाँले अटिजम भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न महानगरले स्रोत विद्यालय सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका-१५ का वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियार, महानगरपालिकाकी बालकल्याण अधिकारी बेलकुमारी गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष गोविन्दराज पहारी, गैरसरकारी संस्था महासङ्घ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहारी, सिविन कास्कीकी काउन्सिलर कृष्णा गुरुङ, विष्णुपादुका माध्यमिक विद्यालयका शिक्षक यमप्रसाद भण्डारी, गैरसरकारी संस्था महासङ्घ कास्कीका सहसचिव शिव शर्मा चापागाईँलगायतले धारणा राख्नुभएको थियो ।
स्थानीय भास्कर पाण्डे तथा लाभग्राही सूर्यप्रसाद पोखरेल, मुना परियार र मनिराज थापाले पनि संस्थाका कार्यक्रमबारे आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो ।
वक्ताहरूले बालगृह सञ्चालनका मापदण्डको पालना, शिक्षा तथा स्वास्थ्यमा पहुँच, मनोविमर्श सेवा, जीवनोपयोगी सीप र पुनःस्थापनापछिको अनुगमनलाई संस्थाका सकारात्मक अभ्यासका रूपमा औँल्याए ।
परिवार तथा अभिभावकको जिम्मेवारी कमजोर हुँदा बालबालिका जोखिममा पर्ने अवस्था बढ्न सक्ने भन्दै उनीहरूले परिवार, समुदाय, स्थानीय सरकार र सामाजिक संस्थाबिच सहकार्य आवश्यक रहेको बताए ।
संस्थाको सहयोगले कठिन परिस्थितिबाट अघि बढ्न, परिवारमा घुलमिल हुन र भविष्यप्रति आशावादी बन्न मद्दत पुगेको लाभग्राहीहरूको भनाइ थियो ।
अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका अभिभावकहरूले दीर्घकालीन सहयोग र मनोविमर्श सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
११ लाख ५८ हजार रुपियाँ बचत
साधारणसभामा संस्थाका सचिव दिलबहादुर भट्टराईले प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष लोकमणि सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल आम्दानी २ करोड ४२ लाख ४० हजार ७ सय ८६ रुपियाँ र कुल खर्च २ करोड ३० लाख ८२ हजार ४ सय ६२ रुपियाँ रहेको छ । आर्थिक वर्षको अन्त्यमा संस्थाको ११ लाख ५८ हजार ३२४ रुपियाँ बचत रहेको जानकारी दिइयो ।
छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको संस्थाका कार्यकारी निर्देशक ठाकुरप्रसाद चापागाईँले जानकारी दिनुभयो ।
‘सामाजिक उत्तरदायित्व प्रवर्धन निर्देशिका, २०७७’ अन्तर्गत संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको सामाजिक लेखाजोखा गरिएको हो ।
सामाजिक लेखाजोखा सहजकर्ता निकिता कोइरालाले संस्थाका कार्यक्रम, लक्ष्य, उद्देश्य, उपलब्धि, सबल पक्ष तथा सिकाइका विषयमा प्रस्तुति दिनुभएको थियो ।
संस्थाका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पार्वता पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव दिलबहादुर भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, लाभग्राही, अभिभावक, विद्यालयका प्रतिनिधि र स्थानीय समुदायका सदस्यसहित ६० जनाको सहभागिता रहेको थियो ।