पोखरा । अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणका लागि राज्य, नागरिक समाज र सरोकारवाला निकायबीच समन्वय र सक्रिय पहल आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका छन् ।
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा “Right, Justice, Action for All Women and Girls” अर्थात् सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर भन्ने नारासहित पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले महिलाको समान अधिकार, अवसर र सशक्तीकरण सुनिश्चित गर्न अझ प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका हुन् ।
एकीकृत सेवा कार्यालय कास्कीको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ कास्कीको समन्वयमा २०८२ फागुन २४ गते आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दै अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

विकासका रणनीतिक आधारका रूपमा महिलाअधिकार, समानता र सशक्तीकरणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उहाँले अधिकारसँगै जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिनु भयो ।
कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक विना शिलवालले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ, इतिहास र वर्तमान अवस्थाबारे प्रस्तुति दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, महासङ्घ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, फेडो गण्डकीकी अध्यक्ष सुमित्रा गायक, शक्ति समूहकी पोखरा संयोजक सरिता पौडेल तथा अधिकारकर्मी इश्वरी विकलगायतले महिलाको हकअधिकार, समानता र सशक्तीकरणका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।
एकीकृत सेवा कार्यालय कास्कीका प्रमुख राजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिकृत कमल कडेलले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला पक्ष गरी करिब ८० जनाको सक्रिय सहभागिता रहेको थियो ।