मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निर्वाचन रिपोर्टिङ तालिम सम्पन्न

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई मध्यनजर गर्दै सत्य, निष्पक्ष र स्वतन्त्र समाचार सम्प्रेषण प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको निर्वाचन रिपोर्टिङसम्बन्धी दुई दिने तालिम माघ २९ गते सम्पन्न भएको छ । तालिमबाट विभिन्न सञ्चारमाध्यममा आबद्ध ८३ जना सञ्चारकर्मी लाभान्वित भएका छन् ।

समापन समारोहमा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार विमला भण्डारीले निर्वाचनका बेला सञ्चारकर्मीले कुनै पक्षधरता नदेखाई स्वतन्त्र, तथ्यपरक र जिम्मेवार ढङ्गले समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले सञ्चार माध्यम सधैं देश र आमनागरिकको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै पत्रकारिताको मर्यादा र व्यावसायिकता कायम राख्न आग्रह गर्नु भयो ।

प्रेस रजिष्ट्रार भण्डारीका अनुसार गण्डकी प्रदेशभित्रका सञ्चार माध्यमहरूको अभिभावक र नियामक निकाय दुवै रूपमा प्रेस रजिष्ट्रार कार्यालय क्रियाशील छ ।

ऐनको दफा ९ ले कार्यालयलाई एफएम रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकाको दर्ता, नवीकरण, अभिलेखीकरण, वर्गीकरण सिफारिस, लोककल्याणकारी विज्ञापन व्यवस्थापन, श्रमजीवी पत्रकारको हकहित संरक्षण तथा सञ्चार क्षेत्रको अनुगमन गर्ने अधिकार दिएको छ ।

जारी गण्डकी प्रदेश आम सञ्चार नियमावली-२०८२ ले यस कार्यलाई थप व्यवस्थित र कार्यमूलक बनाएको उहाँले बताउनु भयो ।

तालिमको दोस्रो दिन प्रेस काउन्सिल सदस्य केशवशरण लामिछानेले निर्वाचन आचारसंहिता-२०८२, निर्वाचनमा मिडियाको भूमिका तथा व्यावहारिक अभ्यासबारे प्रस्तुति दिनु भयो ।

कास्की निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले मतदानदेखि मतगणनासम्मको प्रक्रिया र कानुनी व्यवस्थाबारे सहजीकरण गर्नु भयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले निर्वाचन सुरक्षासम्बन्धी संवेदनशीलता, सुरक्षा योजना (निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात), मतपेटिका ढुवानी योजना तथा मतदान स्थलको सुरक्षा अवस्थाबारे जानकारी दिनु भयो ।

कास्की जिल्लामा प्रतिनिधि सभा सदस्यका तीन निर्वाचन क्षेत्र रहेका छन् । कास्की जिल्लाका १ सय ५३ मतदान स्थलमध्ये ५६ अतिसंवेदनशील, ५४ संवेदनशील र ४३ सामान्य रहेका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा १७ जना, क्षेत्र नं. २ मा १७ जना र क्षेत्र नं. ३ मा १५ जना गरी कुल ४९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि १ हजार ५५ जना नेपाल प्रहरी र २ हजार ८ जना निर्वाचन प्रहरी गरी ३ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइएको छ ।

प्रशिक्षार्थीको तर्फबाट शिशिर पौडेल, तिलक पुन र खिमा गुरुङले तालिमबाट प्राप्त अनुभव प्रस्तुत गर्नु भएको थियो ।

प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजनामा महासङ्घको तालिम हलमा कार्यक्रम सञ्चालन भएको थियो ।

समापन समारोह महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव भूपाल गुरुङले गर्नुभएको थियो ।

Author

Related News