मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्कीमा प्रतिनिधिसभा निर्वाचन कार्यालय स्थापना

पोखरा । कास्की जिल्लामा आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को तयारीस्वरूप २०८२ माघ २ गते पोखरामा एक कार्यक्रमबि च कार्यालय स्थापना गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का लागि जिल्ला न्यायाधीश हिमलाल वेलवासे मुख्य निर्वाचन अधिकृत रहनुभएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर–१ का लागि सीता रेग्मी र निर्वाचन क्षेत्र नम्बर–२ का लागि निर्मलाकुमारी खड्का निर्वाचन अधिकृत तोकिनुभएको छ ।

कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य पदका लागि तीन ओटा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, मालेपाटन पोखरा–५ स्थित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर–२ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय, पोखरा–१७ ड्याम्मसाइड र निर्वाचन क्षेत्र नम्बर–१ का लागि पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र, रामघाट लाई निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल वेलवासेले नागरिकद्वारा निर्वाचित प्रतिनिधिले विधि, विधान र कानुन निर्माण गर्ने भएकाले निर्वाचन साझा विषय भएको उल्लेख गर्नु भयो ।

उहाँले जिल्लामा उपलब्ध स्रोतसाधन र जनशक्तिको प्रभावकारी परिचालनमार्फत स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रमा १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्र कायम गरिएको जानकारी दिनु भयो ।

उहाँले जिल्ला सुरक्षा समिति कास्कीले निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्दै मतदानस्थलको शान्ति सुरक्षा, अनुगमन तथा स्थानीयसँग साक्षात्कार गर्ने बताउनु भयो ।

साथै मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सकारात्मक र यथार्थपरक समाचार सम्प्रेषणमा जोड दिनु भयो र आचारसंहिताको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्नु भयो ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी पोखराका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचनको तयारी र कार्यतालिकाबारे जानकारी दिँदै कास्की जिल्लामा कुल ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेको जानकारी दिनु भयो ।

उहाँका अनुसार महिला १ लाख ६० हजार १ सय ५३ जना पुरुष १ लाख ४८ हजार ४ सय १५  जना महिला तथा अन्य चार जना मतदाता रहेका छन् ।

मतदाता र मतदान केन्द्रको क्षेत्रगत विवरण 

निर्वाचन क्षेत्र नम्बर–१ मा कुल १ लाख १६ हजार ८ सय ७८ जना मतदाता (महिला ५६,०७९, पुरुष ६०,७९८, अन्य १) रहेका छन् । यहाँ ६१ मतदान स्थल र १ सय ४० मतदान केन्द्र छन् ।

निर्वाचन क्षेत्र नम्बर–२ मा कुल ८४ हजार १ सय ३४ जना मतदाता (महिला ३९,७९३, पुरुष ४४,३४०, अन्य १) रहेका छन् । यहाँ ३३ मतदान स्थल र ९७ मतदान केन्द्र छन् ।

निर्वाचन क्षेत्र नम्बर–३ मा कुल १ लाख ७ हजार ५ सय ६० जना मतदाता (महिला ५२,५४३, पुरुष ५५,०१५, अन्य २) रहेका छन् । यहाँ ५९ मतदान स्थल र १ सय २६ मतदान केन्द्र रहेका छन् ।

प्रदेश निर्वाचन अधिकारी ढकालका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा कुल मतदाता सङ्ख्या १६ लाख ६२ हजार २ सय ४६ पुगेको छ ।

कार्यक्रममा गण्डकी प्रदेश तथा कास्की जिल्लाका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मी, सहायक निर्वाचन अधिकृत तथा चार ओटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक निर्वाचन अधिकृत दीपक गिरीले गर्नुभएको थियो ।

Author

Related News