मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

महालक्ष्मीमा २०५ महिला सम्मिलित निर्वाचन परिचालन समिति गठन

ललितपुर । महालक्ष्मी, १६ माघ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत महालक्ष्मी नगरमा २०५ जना महिलालाई समेटेर निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

शुक्रबार अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) महालक्ष्मी नगर कमिटीद्वारा सानागाउँमा आयोजित निर्वाचन केन्द्रित भेलाबाट नगर कमिटी अध्यक्ष रूपा खत्रीको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो ।

समितिको घोषणा अनेमसङ्घ केन्द्रीय सदस्य तथा महालक्ष्मी नगर इञ्चार्ज देविका राईले गर्नुभएको थियो ।

भेलाले महालक्ष्मी नगरका १० ओटै वडामा इञ्चार्ज तोक्दै घरघरमा पुगेर चुनावी अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ ।

महिलाहरूको सक्रिय सहभागितामार्फत जनताको घरआँगनसम्म पुगेर निर्वाचन प्रचारलाई सशक्त बनाउनेमा जोड दिइएको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा ललितपुर निर्वाचन क्षेत्र नं. २ का कमाण्डर हरिकृष्ण व्यञ्जनकारले हरेक आन्दोलनमा महिलाहरूको भूमिका महत्वपूर्ण रहने गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा सक्रिय भएर एमालेको जित सुनिश्चित गर्न आग्रह गर्नु भयो ।

त्यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालले मुलुकको पहिलो राष्ट्रपति, न्यायपालिकाको प्रमुखलगायत महत्वपूर्ण जिम्मेवारीमा महिलालाई स्थापित गर्ने श्रेय एमालेले लिएको स्मरण गराउँदै महिलाहरू घरभित्र मात्र सीमित नभई देशको नेतृत्व गर्न सक्षम रहेको सन्देश पार्टीले दिएको बताउनु भयो ।

राजधानी प्रदेश विशेष कमिटीका सदस्य रामहरि बजगाईंले ‘घण्टी मन्दिरमा बजाइने भए पनि जनताको मन–मस्तिष्कमा घण्टी नभएको’ टिप्पणी गर्दै देशलाई खरानी बनाउने तत्वहरू खुलेआम हिँडिरहेको आरोप लगाउनु भयो ।

अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दोषी देखाउने षड्यन्त्रको प्रतिवाद गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

भेलाकी प्रमुख अतिथि देविका राईले सबै एकजुट भएर ललितपुरको विकासका लागि सादगी र निष्ठाका प्रतीक उम्मेदवार प्रेमबहादुर महर्जनलाई विजयी गराउनुपर्ने बताउनु भयो ।

अनेमसङ्घ ललितपुर जिल्ला कार्यवाहक अध्यक्ष कला भण्डारीले घरका आमा, दिदीबहिनीलाई बुझाउन सके परिवारका सबै सदस्य प्रभावित हुने भन्दै आजैदेखि घरघरमा पुगेर चुनावी प्रचारमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा अनेमसङ्घ बागमती प्रदेश सचिवालय सदस्य पार्वती बञ्जरा, नेकपा एमाले महालक्ष्मी नगर कमिटी उपाध्यक्ष पिना सुवेदी, उपसचिव तथा नगर कार्यपालिका सदस्य माधव श्रीमाली, सचिवालय सदस्य राजन खड्का, जिल्ला सदस्य तथा महालक्ष्मी इञ्चार्ज सुनिता पोखरेल, सदस्यहरू गोमा महत थापा, सङ्गीता राई, गोमा श्रेष्ठलगायत नगर तथा वडास्तरीय नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

Author

Related News