काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनलाई लक्षित मिथ्या सूचना, भ्रामक प्रचार तथा घृणाजन्य अभिव्यक्तिको नियन्त्रणका लागि निगरानीलाई तीव्र बनाएको छ ।
आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सामग्रीको सङ्कलन, विश्लेषण तथा नियामक निकायसँगको सहकार्यमा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
डिजिटल प्लेटफर्ममार्फत भइरहेको निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्रीमा निगरानी बढाउन आयोगले सूचना सदाचार एकाइ गठन गरी सक्रिय रूपमा काम गरिरहेको छ ।
आयोगका अनुसार निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने सामग्री पहिचान गरी सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गरिँदै आएको छ ।
हालसम्म कारबाहीका लागि पठाइएका विवरण

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचना सदाचार एकाइले दैनिक रूपमा सामग्रीको विश्लेषण गरी सिफारिस गरिरहेको छ ।
“सिफारिसका आधारमा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि लेखी पठाएका छौँ,” उहाँले भन्नु भयो ।
आचारसंहिता कार्यान्वयन र उजुरी प्रक्रिया
माघ ४ गते रातिदेखि निर्वाचन आचारसंहिता लागू भएसँगै आयोगले कार्यान्वयन, अनुगमन र नियमनको प्रक्रिया सँगसँगै अघि बढाएको छ ।
आयोगले मौखिक, लिखित तथा विद्युतीय माध्यमबाट आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी दिन सकिने व्यवस्था गरेको जनाएको छ ।
प्रवक्ता भट्टराईका अनुसार जिल्ला आचारसंहिता अनुगमन अधिकृतको भूमिकामा यसपटक केही नयाँ व्यवस्था गरिएको छ ।
आर्थिक र अन्य विषयलाई छुट्टाछुट्टै वर्गीकरण गरी सबै जिल्लाबाट दैनिक रूपमा ‘रियल टाइम’ विवरण प्राप्त भइरहेको उहाँले जानकारी दिनु भयो ।
हाल विभिन्न जिल्लाबाट उजुरी परिरहेको र त्यसअनुसार कारबाही प्रक्रिया अघि बढिरहेको आयोगको भनाइ छ ।
केन्द्रीय तथा जिल्लास्तरको कारबाही अवस्था
आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले २०८२ माघ १८ गतेसम्म २३ ओटा स्पष्टीकरण सोधेको छ, जसमध्ये १२ ओटाको जबाफ प्राप्त भइसकेको जनाएको छ ।
यस क्रममा राजनीतिक दल, उम्मेदवार तथा संस्थाहरूलाई समेत स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनमा उजुरी लिने र कारबाही गर्ने काम तीव्र बनाइएको छ ।
आयोगका अनुसार बाँके, कालीकोट, पाल्पा, गुल्मी लगायतका जिल्लामा आचारसंहिताविपरीतका सभा–सम्मेलन तथा प्रचार कार्यक्रम रोकिएका छन् ।
साथै राजनीतिक दल, उम्मेदवार र सरोकारवालासँग छलफल गरी आचारसंहिता कार्यान्वयनसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।