मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सिन्धुली- २ मा चुनावी चहलपहल तीव्र

रुद्रबहादुर खड्का, सिन्धुली ।

प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै जाँदा सिन्धुली जिल्लामा राजनीतिक दलहरूको चुनावी प्रचारप्रसार तीव्र बनेको छ ।

विशेषगरी क्षेत्र नम्बर-२ मा उम्मेदवारहरू घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार राजन दाहाल यतिबेला गाउँगाउँ पुगेर मत माग्दै जनजीविकासँग जोडिएका कार्यक्रम सार्वजनिक गरिरहनुभएको छ ।

उहाँले स्थानीय पालिकाहरूमा नागरिकका गुनासा संस्थागत गर्ने, प्राविधिक शिक्षालाई प्राथमिकता दिने, स्वास्थ्य, विद्युत, खानेपानी र बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कमलामाई नगरपालिकामा चक्रपथ निर्माण, ‘एक घर एक धारा’ नीति कार्यान्वयन, प्रत्येक वडा कार्यालयसम्म पक्की सडक विस्तार तथा आधुनिक कृषि प्रणाली प्रवर्धन गर्ने उहाँको योजना छ । बाझो जमिनमा सिँचाइ व्यवस्थापन गरी उत्पादन वृद्धि गर्ने पनि उहाँको प्रतिबद्धता रहेको छ ।

पर्यटन प्रवर्धनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सिन्धुलीगढी, सिद्धबाबा मन्दिर, भद्रकाली मन्दिर, कमलामाई मन्दिर, दुम्जा कुशेश्वर मन्दिर, पञ्चकन्या पोखरी, कालीमाई मन्दिर, सिन्धुली कलाघर, जुर्बुटा कला सङ्ग्रहालय तथा फापरचुली क्षेत्रको संरक्षण र विकास गर्ने योजना रहेको उहाँले बताउनु भयो ।

“स्थानीय स्रोत र प्रविधिसँग जोडेर समृद्ध सिन्धुली निर्माण गर्नु हाम्रो लक्ष्य हो ।”-दाहालले भन्नु भयो ।

उहाँले मानव पूँजी विकास, डिजिटलाइजेसन, उद्यमशीलता प्रवर्धन, सीप विकास र जलवायु सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनु भयो ।

यसैबिच कानुनमा स्नातकोत्तर गर्नुभएकी तथा विघटित प्रतिनिधिसभामा कांग्रेस सचेतक रहनुभएकी सुशीला थिङ पनि यतिबेला चुनावी भेटघाटमा व्यस्त हुनुहुन्छ ।

उहाँ घरदैलो अभियानमार्फत मतदाताका गुनासा, अभाव र पीडा सुन्दै समाधानको प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार थिङले ग्रामीण भेगको सीमित स्रोत, सामाजिक विभेद र महिला असमानता नजिकबाट भोगेकाले राजनीतिमा होमिएको बताउनु भयो ।

“महिलामैत्री कानुन निर्माण र कार्यान्वयनमा सशक्त भूमिका निर्वाह गर्ने मेरो प्राथमिकता हो ।”-उहाँले भन्नु भयो ।

महिला, जनजाति, सिमान्तकृत वर्ग र फरक क्षमता भएका व्यक्तिका मुद्दालाई व्यवहारमै स्थापित गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

उहाँले समुन्नत समाज निर्माण, मानव अधिकार संरक्षण र समावेशी विकासमार्फत ‘खुसी नेपाली र शान्त नेपाल’ निर्माणमा जोड दिने बताउनु भयो ।

नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोजजङ्ग थापाले कमलामाई नगरपालिका-१० अन्तर्गत जाहानटोल, मिलनचोक लगायत आसपासका बस्तीहरूमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाउनुभएको छ ।

टोलटोलमा पुगेर मतदातासँग साक्षात्कार गर्न थालेपछि स्थानीय समुदायको उल्लेख्य उपस्थितिले एमाले कार्यकर्ता उत्साहित बनेका छन् ।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले विगतमा आफूहरूले मत दिएर जिताएका जनप्रतिनिधि पुनः नफर्किएको र आफ्ना समस्याहरू नसुनेको गुनासो गरेका थिए ।

स्थानीय आशा माझीले यसपटक एमाले उम्मेदवार थापालाई मतदान गर्ने सल्लाह भएको बताउँदै उम्मेदवार आफैं टोलमा आएपछि भरोसा जागेको बताउनु भयो ।

स्थानीयवासीहरूले खानेपानीको अभाव, कच्ची सडक स्तरोन्नति, कृषि सिँचाइको व्यवस्था, युवाका लागि रोजगारी सिर्जना, स्वास्थ्य चौकी सेवा सुदृढीकरण तथा बाढीपहिरो नियन्त्रण जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए । विकास निर्माणमा दीर्घकालीन योजना र पारदर्शिता आवश्यक रहेको उनीहरूको जोड थियो ।

उम्मेदवार थापाले स्थानीयका समस्या र सुझावलाई साझा एजेन्डाका रूपमा लिँदै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

“खानेपानी, सडक, सिँचाइ र रोजगारीका विषयमा ठोस योजना बनाएर कार्यान्वयनमा लैजाने मेरो प्राथमिकता हुनेछ ।”-उहाँले भन्नु भयो ।

निर्वाचनपछि जनप्रतिनिधि र समुदायबिच समन्वय गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गरिने उहाँको प्रतिबद्धता छ ।

सिन्धुली क्षेत्र नं. २ मा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बन्दै गएको छ ।

सिन्धुलीमा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू विकास, रोजगारी, सुशासन, महिला अधिकार र समावेशी अर्थतन्त्रका मुद्दा लिएर मतदातामाझ सक्रिय देखिएका छन् । जिल्लाभर चुनावी वातावरण उत्साहपूर्ण बन्दै गएको छ ।

Author

Related News