मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सहिद दिवसको अवसरमा सुनकोशी-२ मा शैक्षिक कार्यक्रम

रुद्रबहादुर खड्का, सिन्धुली

सहिद दिवसको अवसरमा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. २ को आयोजनामा विभिन्न शैक्षिक कार्यक्रम सम्पन्न भएका छन् ।

विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आधारभूत तथा माध्यमिक तह लक्षित प्रतियोगिताहरू आयोजना गरिएको हो ।

कार्यक्रमअन्तर्गत आधारभूत विद्यालय तहमा हाजिरीजबाफ तथा हस्तलेखन प्रतियोगिता, माध्यमिक तहमा वक्तृत्वकला, निबन्ध लेखन तथा हस्तकला प्रतियोगिता सम्पन्न गरिएका थिए। प्रतियोगितामा सुनकोशी गाउँपालिका वडा नं. १ र २ भित्रका विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

माध्यमिक तहको वक्तृत्वकला प्रतियोगितामा पञ्चकन्या माविका प्रयास पुलामी प्रथम, कुशेश्वर माविका अनुप कोइराला द्वितीय हुनुभएको छ ।

आवि खाँनिगाउँकी कृष्टिना मोक्तान तृतीय हुँदा ज्वालादेवी माविका आसु यादवले सान्त्वना स्थान हासिल गर्नु भयो ।

हाजिरीजबाफ प्रतियोगितामा आवि घ्याम्पाटारको समूह पहिलो, ज्वालादेवी माविको समूह दोस्रो तथा आवि खाँनिगाउँको समूह तेस्रो भएको छ ।

निबन्ध प्रतियोगितामा पञ्चकन्या माविका हर्कनारायण सिँजाली पहिलो, कुशेश्वर माविका बुद्ध तोलाङ्गे दोस्रो र ज्वालादेवी माविका शीतल स्याङवाले तेस्रो स्थान हासिल गर्नु भयो ।

हस्तलेखन प्रतियोगितामा पञ्चकन्या माविका अंशु तामाङ पहिलो, प्रगतिशील आविकी सिरिया तामाङ दोस्रो तथा विश्वज्योति आविकी समीरा मिर्चिङ तेस्रो हुनुभएको छ ।

आधारभूत तहको वक्तृत्वकलामा आवि खाँनिगाउँका एलेक्स मोक्तान पहिलो, ज्वालादेवी माविकी रोशनी तामाङ दोस्रो र कुशेश्वर माविकी निकिसा भुजेल तेस्रो हुनु भयो ।

सबै विधाका विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जीवन बुर्मा मगरले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको बौद्धिक विकास र प्रतिभा पहिचान गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो ।

सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले शिक्षासँगै यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थीहरूको चेतनास्तर बढाउने भन्दै आगामी दिनमा शिक्षाको क्षेत्रमा यस्ता कार्यक्रमका लागि बजेट व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

वडा अध्यक्ष जीवन बुर्मा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख सौभाग्य न्यौपाने, महिला तथा बालबालिका शाखा प्रमुख गायत्री दाहाल, वडा सदस्यहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

Author

Related News