पोखरा । असार-साउन महिना भनेको मनसुनी वर्षा हुने समय हो साउनको यो समयमा पानी परेको हुनु पर्ने हो तर टण्टलापुर घामले पोखरामा बसिनसक्नु छ ।
नेपालमा धेरै पानी पर्ने ठाउँ पोखराको लुम्ले भएकाले नेपालको चेरापुञ्जीको उपमा पाएको पोखरामा पानी नपर्दा गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
विश्वमा बढी पानी पर्ने ठाउँका रुपमा भारतको चेरापुञ्जी भएका कारण पोखरालाई पानी पर्ने मामलामा चेरापुञ्जीको उपमा दिने गरिएको हो ।
यसबेला पोखरामा तराईको झल्को दिने खालको गर्मीको अनुभव गरेको विगत २१ वर्षदेखि पोखराको रामबजार बस्दै आउनु भएका अधिकारकर्मी ढाकाराम पौडेलले बताउनु भयो ।

पोखरामा केही दिन देखि चर्को गर्मी छ । देशका विभिन्न ठाउँमा पनि कतै पानी परेको छ भने कतै गर्मी बढेको छ ।
मनसुनी वर्षा हुने भएपनि वर्षा हुन नसक्दा गर्मी बढेको पौडेललेको भनाइ छ । गर्मी बढेसँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुँदै आएको पोखरा महानगरपालिका-१७ बिरौटा निवासी सामाजिक अभियान्ता मेनका पौडेलको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले २०८२ साउन ८ गते पोखराको तापक्रम ३३ डिग्रीदेखि ३५ डिग्री देखाएको छ ।
आज दिउँसोको तापक्रम यसै अनुसार चलेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका सूचना अधिकारी राजेशकुमार महतोले जानकारी दिनु भयो।
महतोका अनुसार २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो । विगतका वर्षहरूको तथ्याङ्क हेर्ने हो भने २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री रहेको थियो ।
त्यस्तै २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पोखराको तापक्रम ३४.७ डिग्री थियो । पोखराको तापक्रम सबैभन्दा बढी सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो ।
त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको जल तथा मौसम विज्ञान कार्यालयको तथ्याङ्कले देखाएको कार्यालय प्रमुख सुजन सुवेदीको भनाइ छ।