मानव आवाज

२०८३ असोज ८ गते
00: 00: 00
२०८३ असोज ८ गते

दुबई-पोखरा सिधा उडान सुरु, पहिलो दिन ११३ यात्रु आए १५२ गए

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले दुबई-पोखरा-दुबई सिधा अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ ।

फ्लाई दुबईको बोइङ ७३७ म्याक्स-८ विमान २०८३ असोज ७ गते साँझ ६ बजेर १८ मिनेटमा दुबईबाट पोखरा अवतरण गरेसँगै नियमित उडान औपचारिक रूपमा सुरु भएको हो ।

१ सय ६६ सिट क्षमताको विमानले पहिलो उडानमा १ सय १३ यात्रु लिएर पोखरा आएको थियो भने १ सय ५२ यात्रु लिएर दुबई फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो । फर्किने यात्रुमध्ये १ सय ४९ जना इकोनोमिक र तीन जना बिजनेस क्लासका थिए ।

नेपाली पाइलट सर्वजित यादवले उडाउनुभएको विमानलाई पोखरा विमानस्थलमा पानीको फोहरासहित परम्परागत रूपमा स्वागत गरिएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानबाट आएका यात्रुलाई स्वागत गर्दै यस उडानले पोखराको पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तारमा योगदान पुर्‍याउने बताउनुभयो ।

फ्लाई दुबईको पोखरा-दुबई उडान अब दैनिक सञ्चालन हुनेछ । फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार सुरुमा तीन महिनाका लागि अग्रिम टिकट बुकिङ खुलाइएको छ भने यात्रुको चाप हेरेर थप तीन महिनाको बुकिङ खुलाइनेछ । ६ महिनाको परीक्षण उडानपछि दीर्घकालीन उडानबारे निर्णय गरिने उहाँले बताउनुभयो ।

दुबईबाट आएको टोलीमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री तथा कन्दरा ब्याण्डका सदस्यहरू पनि सहभागी थिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले दुबईको हवाई सञ्जालमार्फत पोखराले अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले उडान सफल भए कतार एयरवेज, एयर इन्डियालगायत अन्य ठूला हवाई कम्पनीलाई समेत पोखरा आकर्षित गर्न सकिने बताउनुभयो । पोखरा-ढाका उडान जनवरीदेखि सञ्चालन गर्ने तयारीसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

उडानलाई सफल बनाउन पर्यटन व्यवसायीले पहिलो उडानबाट आएका पर्यटकका लागि होटलमा निःशुल्क बास तथा प्याराग्लाइडिङको सुविधा उपलब्ध गराएका छन् ।

होटल सङ्घ पोखरा र पर्यटनसम्बद्ध संस्थाहरूले दैनिक आउने इच्छुक पर्यटकलाई निःशुल्क बासको व्यवस्था गर्ने जनाएका छन् ।

पहिलो उडानका यात्रुलाई पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र पर्यटनसम्बद्ध संस्थाले खादा-माला लगाएर स्वागत गरेका थिए ।

नाट्टा गण्डकीले यात्रुलाई मायाको चिनोस्वरूप ध्यानमा प्रयोग हुने ‘सिङ्गिङ बाउल’ प्रदान गरेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार