मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

दुधौली नगर अस्पतालमा डाक्टर-व्यवस्थापन विवाद चुलियो, ओपिडी सेवा ठप्प

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुलीको दुधौली नगर अस्पतालमा कार्यरत डाक्टरहरूलाई करार नविकरण नगरी हटाइएपछि अस्पतालको ओपिडी सेवा बन्द भएको छ ।

अस्पतालले २०८२ माघ १ गतेदेखि डाक्टरहरूलाई हटाएसँगै नियमित ओपिडी सेवा प्रभावित भएको हो ।

डाक्टरहरूलाई निकालिएपछि सुरु भएको आन्दोलनले अस्पतालका मेडिकल अफिसरहरू, अस्पताल विकास समिति र नगरपालिकाबिचको विवादलाई झनै चुल्याएको छ ।

डाक्टरहरूले २०८२ असोज महिनामै चिकित्सकको नियमित सेवा, जोखिम र जिम्मेवारी तथा कार्यसम्पादनसँग सम्बन्धित ६ बुँदे माग राख्दै जनप्राक्टिस भत्ता, सर्पदंश उपचार भत्ता, प्रोत्साहन भत्ता, महँगी भत्ता तथा अघिल्लो आर्थिक वर्षको ओभरटाइम ड्युटीको बाँकी बक्यौता भुक्तानीको माग गरेका थिए । तर माग पूरा नभएपछि अवस्था जटिल बनेको हो ।

अस्पतालका मेडिकल अफिसर इन्चार्ज डा. रमा खपाङ्गीका अनुसार पटक–पटक माग पूरा गर्ने आश्वासन दिइए पनि अस्पताल व्यवस्थापनले बेवास्ता गर्दै आएको छ ।

“विना कारण, विना जानकारी र स्पष्टीकरण दिने अवसरसमेत नदिई करार सेवा नविकरण नगर्ने, निरन्तर उठाइएका मागको बेवास्ता गर्ने र सेवा–सुविधामा विभेद गर्ने काम भयो ।”-उहाँले भन्नु भयो ।

अत्यधिक कामको चापका कारण सेवा दिन समस्या भएको र विवादकै कारण डाक्टरहरूको मनोबल खस्किँदै गएको उहाँको भनाइ छ ।

निर्वाचन आचारसंहिता लागेकाले तत्काल नयाँ डाक्टर आउन सक्ने सम्भावना न्यून रहेको पनि उहाँले बताउनु भयो ।

अस्पतालमा कार्यरत डा. मन्दिप अधिकारीले जनशक्ति अभावका कारण ओपिडी सेवा सञ्चालन गर्न नसकिएको जानकारी दिनुभयो ।

“तीन जना डाक्टरले दैनिक ओपिडीमा आउने करिब डेढ सय र आपतकालीन सेवामा आउने ४०-५० जना बिरामी हेर्न सम्भव छैन ।”-उहाँले भन्नु भयो ।

उहाँका अनुसार आपतकालीन सेवा र ७० वर्ष माथिका नागरिकका लागि सेवा भने निरन्तर छ ।

विवाद चुलिएपछि अस्पतालका दुई जना विशेषज्ञ डाक्टरसमेत बिदामा बसेका छन् ।

यसैबिच, दुधौली नगर अस्पतालका प्रमुख डा. सुमनसिंह कार्कीविरुद्ध नियमविपरीत अत्यधिक सेवा सुविधा लिएको, बिमा र निःशुल्क औषधिमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको छ ।

अख्तियारले जनप्राक्टिससम्बन्धी अस्पतालका कागजातहरू नियन्त्रणमा लिइसकेको जनाएको छ । डा. कार्कीले अस्पतालबाट मासिक तलबसँगै ७५ प्रतिशत विशेषज्ञ भत्ता र २५ प्रतिशत प्रोत्साहन भत्ता लिँदै आएको आरोप छ ।

अस्पतालभित्र देखिएका विवादहरूको अध्ययनका लागि जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पट्टेल, स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको छानबिन समिति गठन गरिएको भए पनि हालसम्म प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ।

डाक्टर–व्यवस्थापन विवादका कारण दुधौली नगर अस्पतालको सेवा प्रभावित हुँदा स्थानीय नागरिकहरू उपचारबाट वञ्चित भइरहेका छन् ।

Author

Related News