सिन्धुली । जिल्ला समन्वय समिति, सिन्धुलीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको समीक्षा कार्यक्रम २०८३ भदौ २६ गते सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।
कार्यक्रमको समापन समारोहमा प्रतिनिधिसभा क्षेत्र नं. १ सिन्धुलीका सांसद धनेन्द्र कार्कीले दुई दिनसम्म विभिन्न स्थानीय तह तथा निकायबाट प्रस्तुत गरिएका वार्षिक प्रगति विवरणमा सहभागीले राखेका जिज्ञासा तथा समस्याका विषयमा जानकारी गराउनुभएको थियो ।
सांसद कार्कीले सिन्धुलीको विकासका लागि सरकारले विनियोजन गरेको बजेट न्यून रहेको बताउनुभयो ।
उहाँले आगामी वर्षको बजेटमा बहुवर्षीय योजनामार्फत सिन्धुलीको पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइलगायतका क्षेत्रमा बजेट विनियोजन गर्न सकिने बताउनुभयो ।
सुशासन, मानव अधिकार, सामाजिक न्याय र समृद्धिका लागि नेपालको संविधानले परिकल्पना गरेअनुसार तीनै तहका सरकारका जनप्रतिनिधिबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
सिन्धुलीलाई समृद्ध र सुशासित जिल्ला बनाउन विषयगत छलफल तथा अन्तरक्रियाबाट निष्कर्ष निकाल्दै आगामी दिनको मार्ग तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद कार्कीले जलवायु परिवर्तन विश्वकै चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यसबाट उत्पन्न प्राकृतिक विपद्को सामना गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।
विपद्का कारण मृत्यु तथा बेपत्ता भएका व्यक्तिको खोजी, घरबारविहीनको वैकल्पिक पुनर्स्थापना, घाइतेको उपचार तथा पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मातृका भट्टराईले सङ्घीय सरकारले बजेट कटौती गरे पनि कामको चाप बढेकाले स्थानीय तहमा समस्या उत्पन्न भएको बताउनुभयो ।
कानुन अभावका कारण स्थानीय तहमा कार्यसम्पादनमा समेत समस्या भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य भट्टराईले ग्यासको मूल्यवृद्धिका कारण उत्पन्न अभाव र समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
ग्यासमा दिइने अनुदान घटाएर विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्दै खाना पकाउने वैकल्पिक व्यवस्था गर्नुपर्ने उहाँको सुझाव थियो ।
जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले वार्षिक समीक्षा कार्यक्रम विगतमा सञ्चालन भएका कार्यक्रमको विवरण प्रस्तुत गर्ने मात्र नभई उपलब्धि र कमजोरी पहिचान गरी आगामी दिनमा सुधारका लागि मार्गनिर्देशन गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले सिन्धुलीको विकासका लागि तीनै तहका सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले वन र जमिन सिन्धुलीको विकासका महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो ।
गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरू कार्यक्रममा सहभागी हुन नसकेकोप्रति प्रमुख लामाले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले जनप्रतिनिधिहरू कार्यक्रममा उपस्थित हुन नसक्नुको कारण बुझ्न कठिन भएको बताउँदै विकास सबैको साझा विषय भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
सबैको सहकार्यबाट मात्रै सिन्धुलीको समृद्धिको यात्रा अघि बढाउन सकिने बताउँदै प्रमुख लामाले वार्षिक समीक्षा कार्यक्रमले आगामी वर्षका लागि मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
भदौ २६ गते समीक्षा कार्यक्रमको दोस्रो दिन कमलामाई र दुधौली नगरपालिकासहित फिक्कल, सुनकोशी, गोलञ्जोर, घ्याङलेख, तीनपाटन र मरिण गाउँपालिकाले विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीका अनुसार कार्यक्रममा सहभागीहरूले प्रस्तुत विवरणका सम्बन्धमा राखेका प्रश्नको सम्बन्धित विषयका प्रस्तोताहरूले जबाफसमेत दिएका थिए ।