मानव आवाज

२०८३ भदौ २६ गते
00: 00: 00
२०८३ भदौ २६ गते

सिन्धुलीमा जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु

सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को दुईदिने जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम २०८३ भदौ २५ गतेदेखि सिन्धुलीमाढीमा सुरु भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको भौतिक पूर्वाधार विकास समितिका सभापति एवम् सांसद आशिष गजुरेलले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा सांसद गजुरेलले सिन्धुलीको समृद्धि, सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण भोटेकोशीमा आएको बाढीबाट प्रभावितको खोजी, उपचार, राहत तथा पुनर्स्थापनामा सबै पक्षले सहयोग गर्नुपर्ने बताउँदै मरिनखोला र कमला नदी नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकारसँग समन्वय गर्ने जानकारी दिनुभयो ।

उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै सिँचाइ, मल र बीउको व्यवस्थापनमार्फत उत्पादन बढाउने तथा मरिणखोलामा निर्माणाधीन मासु प्रशोधन उद्योगलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले जिल्लाका सरकारी तथा गैरसरकारी निकायले वर्षभरि गरेका विकास निर्माणका काम र उपलब्धि प्रस्तुत गर्दै स्थानीय तहका जनप्रतिनिधि वार्षिक समीक्षा कार्यक्रममा पर्याप्त रूपमा सहभागी नभएको गुनासो गर्नुभयो ।

उपप्रमुख शान्ता कार्कीले वार्षिक समीक्षा विगतका कार्यक्रमको विवरण प्रस्तुत गर्ने मात्र नभई उपलब्धि, कमजोरी र आगामी सुधारका क्षेत्र पहिचान गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

पहिलो दिन सरकारी कार्यालय, अस्पताल, सडक डिभिजन, खानेपानी, कृषि, वन, चुरे उत्थानशील आयोजना तथा जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजनाले गत आर्थिक वर्षको प्रगति, बजेट खर्च र चुनौतीबारे प्रस्तुति दिएका छन् ।

दोस्रो दिन कमलामाई र दुधौली नगरपालिकासहित फिक्कल, सुनकोशी, गोलञ्जोर, घ्याङलेख, तीनपाटन र मरिण गाउँपालिकाले विकास निर्माण तथा सेवा प्रवाहको वार्षिक प्रगति प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की, जिल्लाका नौवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल, जिल्ला समन्वय अधिकारी तीर्थराज पौडेललगायत विभिन्न सरकारी कार्यालय तथा विकास आयोजनाका प्रमुखहरूको सहभागिता रहेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार