रुद्रबहादुर खड्का, सिन्धुली ।
मरिण गाउँपालिकाले अनाथ तथा विपन्न बालबालिकाहरूलाई न्यानो पोशाक वितरण गरेको छ। मरिण गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय मरिण खयरसालमा अध्ययनरत २७ जना अनाथ तथा विपन्न बालबालिकालाई न्यानो पोसाक (ट्र्याकसुट) वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले विद्यालयमा अध्ययनरत १७ जना अनाथ र १० जना विपन्न गरी जम्मा २७ जना बालबालिकालाई न्यानो पोशाक प्रदान गर्नुभएको हो ।
पछिल्ला केही दिनदेखि अत्यधिक चिसो बढेसँगै बालबालिकाहरू बिरामी पर्न थालेपछि न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनले जानकारी दिनु भयो ।
विद्यालयमा अभिभावकविहीन, द्वन्द्वपीडितलगायत १७ जना अनाथ बालबालिकाहरू अध्ययनरत छन् । चिसोका कारण बालबालिकाहरू कठ्याङ्ग्रिन नपरोस् भन्ने उद्देश्यले विद्यालयको सिफारिसअनुसार पहिलो चरणमा २७ जना बालबालिकालाई न्यानो पोशाक वितरण गरिएको अध्यक्ष मोक्तानले बताउनु भयो ।
अध्यक्ष मोक्तानका अनुसार मरिण गाउँपालिकाले श्री मावि मरिण खयरसालमा आवाससहित १७ जना अनाथ बालबालिकालाई निःशुल्क अध्ययन गराउँदै आएको छ ।
गाउँपालिकाले आगामी दिनमा पनि बालबालिकाको स्वास्थ्य र शिक्षामा ध्यान दिँदै आवश्यक सहयोग निरन्तर गर्ने जनाएको छ ।