मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

जातीय भेदभाव तथा लैङ्गिक विभेदका घटनाबारे छलफल

पोखरा । “जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध” भन्ने नाराका साथ दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजनामा जातीय भेदभाव, छुवाछुत तथा लैङ्गिक विभेदका घटनाबारे छलफल कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश तथा कास्की जिल्लामा पछिल्लो तीन महिनामा घटेका जातीय भेदभाव, छुवाछुत तथा लैङ्गिक विभेदका घटनाबाट दोहोरो शोषणमा परेका दलित तथा सीमान्तकृत समुदायका व्यक्तिलाई न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले सहायता कक्ष (हेल्प डेस्क) परिचालन सम्बन्धी छलफल कार्यक्रम २०८२ माघ २७ गते पोखरामा आयोजना गरिएको हो ।

दलित महिला सङ्घ (फेडो) ले महिला सशक्तिकरणलाई अगाडि बढाउने उद्देश्यले विभिन्न शिपमूलक तथा क्षमता अभिवृद्धि तालिम, महिला सहभागिता अभिवृद्धि तथा समानतामूलक समाज निर्माणका लागि जातीय विभेद तथा छुवाछुत उन्मूलन र लैङ्गिक हिंसा विरुद्धका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यक्रममा फेडोका कार्यक्रम प्रबन्धक नरेश सोवले नागरिक समाज, अधिकारकर्मी तथा सरोकारवालाबीचको सहकार्यमार्फत सहायता कक्षको प्रभावकारी सञ्चालन आवश्यक रहेको बताउनु भयो ।

उहाँले जातीय भेदभाव, छुवाछुत तथा लैङ्गिक विभेदको दोहोरो शोषणमा परेका दलित तथा सीमान्तकृत महिलालाई न्यायमा पहुँच पुर्‍याउन व्यवहारिक रूपान्तरण, नियमित सक्रियता र निरन्तर खबरदारी अपरिहार्य रहेको उल्लेख गर्नु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग पोखराकी कार्यालय प्रमुख नितु गर्तौलाले घटनाको प्रकृति पहिचान गर्न आवश्यक रहेको बताउँदै सबै घटना एकै प्रकृतिका नहुने उल्लेख गर्नु भयो ।

उहाँले घटनाको यथार्थ र गहिराइमा पुगेर सत्यतथ्य पहिचान गरी पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउनु सबैको साझा दायित्व भएको धारणा राख्नु भयो ।

गैरसरकारी संस्था महासङ्घ नेपाल कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ४२ मा उल्लेखित सामाजिक न्यायको हक कार्यान्वयन कमजोर रहेको बताउनु भयो ।

उहाँले महिला, दलित, उत्पीडित, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अवस्था अझै पनि पछि परेको भन्दै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई बहस र पैरवीमा निरन्तर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक शिवा थापाले पछिल्लो समय जातीय भेदभाव, छुवाछुत तथा लैङ्गिक विभेदका मुद्दा दर्ता कम भएको बताउनु भयो ।

उहाँले बालबालिका हराउने तथा दुर्व्यवहारका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै अभिभावकहरूलाई सचेत र संवेदनशील हुन आग्रह गर्नु भयो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी ओसिएमसी फोकल पर्सन मधुमाया पहारी, मानवअधिकार आयोग पोखराका अधिकृत टङ्कप्रसाद खनाल, पोखरा महानगरपालिका-१५ की सदस्य रजनी परियार, फेडो गण्डकी प्रदेश संयोजक सुमित्रा गायक, अधिवक्ता कुञ्जनी प्यासी परियार लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

दलित महिला सङ्घ (फेडो) कास्कीकी अध्यक्ष लक्ष्मी खाती परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तनुजा परियारले गर्नुभएको थियो ।

Author

Related News