पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा क्रियाशील मानवअधिकारकर्मी र प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख तथा कर्मचारीबिच आगामी निर्वाचनको तयारीसम्बन्धी छलफल तथा भेटघाट कार्यक्रम २०८२ कात्तीक १४ गते सम्पन्न भएको छ ।
छलफलका क्रममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले मतदाता नामावली सङ्कलन र मतदान स्थलहरूको अद्यावधिक तथा पर्यवेक्षणका लागि निवेदन सङ्कलन कार्य भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन कार्यालय निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनका लागि पूर्ण तयारी अवस्थामा रहेको छ ।

अधिकारी ढकालले यस वर्ष मतदाता नामावली दर्ता कार्यमा सर्वसाधारणले व्यक्तिगत रूपमा उपस्थिति जनाए पनि विगतका वर्षहरूमा जस्तो राजनीतिक दलहरूको सक्रियता तुलनात्मक रूपमा कम रहेको बताउनु भयो ।
साथै, स्थानीय समुदायमा नाम छुट वा दोहोरो दर्ताबारे सचेतना कार्यक्रम पनि यसपटक सञ्चालन नभएको उहाँको भनाइ थियो ।
ढकालका अनुसार २०८२ असोज १२ गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य २०८२ कात्तिक मसान्तसम्म जारी रहनेछ ।
कास्की जिल्लामा असोज १२ गतेदेखि अहिलेसम्म २ हजार ६ सय २४ जना नयाँ मतदाता दर्ता भएका छन्, जसमा १ हजार ५ सय ५८ पुरुष र १ हजार ६६ महिला रहेका छन् ।
कास्की जिल्ला निर्वाचन कार्यालयका तथ्याङ्कअनुसार २०८२ असार मसान्तसम्म २ लाख ९४ हजार १ सय ५१ मतदाता दर्ता भइसकेका छन् ।
तीमध्ये पुरुष १ लाख ४० हजार ६ सय ७, महिला १ लाख ५३ हजार ५ सय ४० र अन्य ४ जना रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार पोखरा महानगरपालिकाका वडा नं. १७ र २५ मा मतदानस्थल थप्ने प्रस्ताव भएको छ भने वडा नं. ९ को मतदानस्थल सार्ने प्रस्ताव पनि महानगरपालिकाबाट मौखिक रूपमा प्राप्त भएको छ । यसका लागि सम्बन्धित वडा समितिबाट सिफारिसपत्र माग गरिएको बताइएको छ ।
छलफलमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेश समितिका संयोजक तथा वरिष्ठ मानवअधिकारकर्मी विष्णुप्रसाद बराल, इन्सेक पोखराका संयोजक गणेश भण्डारी, पत्रकार कमल पौडेल “अथक”, नागरिक समाजका कृष्ण केसी, र अधिकारकर्मी मधु पन्थीलगायत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विषयमा समेत जानकारी लिइएको थियो । कास्की जिल्लामा हाल १ सय ५० मतदान स्थल रहेका छन् ।
सरकारले अध्यादेश ल्याएसँगै मतदाता नामावलीमा फोटो खिचाउनका लागि सर्वसाधारण कार्यालयमा आउने गरका जनाइएको छ ।