पोखरा । पोखरा महानगरपालिका-५ स्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित सहिद स्मृति पुस्तकालयमा साहित्यकारहरूबिच परिचर्चा तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यकार रामचन्द्र आचार्य, बिधाबिमल बराल र लक्ष्मी थापाले आफ्ना कृति पुस्तकालयलाई हस्तान्तरण गर्दै लेखनको पृष्ठभूमि, सङ्घर्ष र सिर्जनात्मक यात्राबारे अनुभव साझा गर्नु भएको थियो ।
आचार्यले लेखन केवल भाव अभिव्यक्तिको माध्यम मात्र नभई जिविकोपार्जनको आधार पनि बन्न सक्नेमा जोड दिनु भयो ।
बरालले पुस्तकालयलाई अध्ययन संस्कृति विकास गर्ने अभियानका लागि धन्यवाद दिँदै हालै प्रकाशित आफ्ना कृति आगोको पहाड र मरिसिला बारेमा जानकारी गराउनु भयो । उहाँले लेखकको जीवन उसका सफलता-असफलता र भोगाइमार्फत कृतिमा प्रतिबिम्बित हुने बताउनु भयो ।
साहित्यकार लक्ष्मी थापाले पुस्तकालय र फुलबारी जीवनलाई पूर्ण बनाउने आधार भएको उल्लेख गर्दै पछिल्लो समय अध्ययन संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो ।

उनले आफ्नो कविता पर्दा अझै खसेको छैन वाचन गरेर श्रष्टाको परिचय दिन पुस्तकालयको भूमिकाको प्रशंसा गरिन् ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष धनबहादुर नेपाली, कार्यकारी निर्देशक कृष्णप्रसाद बराल, समाजसेवी एवम् अक्षयकोषदाता लक्ष्मण बराल, पत्रकार पुण्य पौडेललगायतले आफ्नो धारणा राख्नु भएको थियो ।
अध्यक्ष सावित्री कोइरालाले श्रष्टाहरूप्रति आभार प्रकट गर्दै समाजद्वारा प्रकाशित स्मारिका अङ्क-५ प्रदान गर्नु भयो । कार्यक्रमको सञ्चालन सचिव प्रदीप सुबेदीले गर्नु भएको थियो ।