पोखरा।क्षेत्री समाज नेपाल पोखरा महानगरपालिका–१८ सराङकोट वडा समितिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
२०८२ माघ १६ गते सम्पन्न कार्यक्रममा क्षेत्री समुदायमाथि राज्यले गर्दै आएको विभेद स्वीकार्य नहुने धारणा व्यक्त गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले राष्ट्र, राष्ट्रियता, सामाजिक सद्भाव र एकताका लागि क्षेत्री समाज निरन्तर अगाडि बढिरहेको बताउनु भयो ।
उहाँले नेपाल एकीकरण अघिदेखि नै देशको रक्षा, निर्माण तथा सीमाको सुरक्षाका लागि क्षेत्री जातिले ठूलो बलिदान दिएको उल्लेख गर्दै सहिद हुने र सन्तान गुमाउनेहरूको सङ्ख्या उल्लेख्य रहेको बताउनु भयो ।
महासचिव थापाले हरेक राजनीतिक आन्दोलन, परिवर्तन र मातृभूमिको रक्षामा अग्रपंक्तिमा रहेर योगदान पुर्याउँदै आएको समुदायलाई राज्यले उपेक्षा गरेको आरोप लगाउँदै राज्यद्वारा गरिएको विभेदको अन्त्य नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नु भयो ।
उहाँले देशको ठूलो जनसङ्ख्या रहेको क्षेत्री जातिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको बताउँदै अहिले बाध्यता र विभिन्न कारणले विदेशमा रहेका छोराछोरीलाई समाजसँग जोड्ने काम भइरहेको जानकारी दिनु भयो ।
साथै, क्षेत्री समुदायको वीरताको प्रतीकका रूपमा युद्ध जितिसकेपछि खेलिने ‘साराङ खेल’ लाई सरकारको सूचीकृत खेलमा समावेश गराउन पहल भइरहेको बताउनु भयो ।
क्षेत्री समाज नेपालका अन्तर्राष्ट्रिय शाखा इन्चार्ज हंसराज ढकालले सन् २०१० मा कतारबाट शाखा विस्तार सुरु भई हालसम्म सात देशमा शाखा गठन भइसकेको जानकारी दिनु भयो ।
उहाँले छिट्टै अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, साइबेरिया लगायतका देशहरूमा शाखा विस्तारको तयारी भइरहेको बताउनु भयो ।
ढकालका अनुसार दूतावास नभएका मुलुकहरूमा समस्यामा परेका क्षेत्री समुदायका सदस्य तथा नेपाली नागरिकलाई आर्थिक, सामाजिक र कानुनी सहयोग प्रदान गर्दै आएको छ ।
साथै, दुबईमा छिट्टै क्षेत्री समाजको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने सम्भावनाबारे अध्ययन भइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार प्रेमबहादुर जिसीले क्षेत्री एकताका लागि समाजको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
समाजका महानगरपालिका अध्यक्ष कृष्णबहादुर थापाले नयाँ कार्यसमितिको घोषणा गर्दै समाजका गतिविधिमा वडास्तरको भूमिका प्रभावकारी हुने उल्लेख गर्नु भयो ।
कार्यक्रममा वडा समितिका पूर्व अध्यक्ष बेलबहादुर थापा, पोखरा–१८ की सदस्य कल्पना ढकाल, श्रीकृष्ण ढकाल, सल्लाहकार यामबहादुर थापा, राधिका खड्का, इन्द्रकुमारी थापा, सल्लाहकार मीनबहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनबाट कमला गोतामेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा शोभा ढकाल, सचिवमा बलरामकुमार जिसी र कोषाध्यक्षमा सावित्री कार्की चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा वीरेन्द्र वानियाँ, निलबहादुर जिसी, पशुपति थापा, सीता थापा, गंगा थापा, इन्दु खड्का, पूजा गोतामे र जमुना थापा रहेका छन् ।
सभामा समाजका आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम क्षेत्री समाज पोखरा-१८ का अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष बेलबहादुर ढकाल क्षेत्रीले र सञ्चालन सचिव बलराम जिसीले गर्नुभएको थियो ।