मानव आवाज

२०८२ फाल्गुन २६ गते
00: 00: 00
२०८२ फाल्गुन २६ गते

हिमाली क्षेत्रमा हुने विपद् तथा उद्धारसम्बन्धी तालिम, ३५ जना लाभान्वित

पोखरा । सत्कर्मको नियम: जस्तो दिनुहुन्छ, उस्तै पुण्य पाउनुहुन्छ भने नारा सहित सन् २०११ मा स्थापित सामाजिक संस्था  कर्मफ्लाइट्स फाउन्डेशन नेपाल र  नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, मालेपाटनको संयुक्त आयोजनामा एक दिवसीय पर्वतीय विपद् व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी तालिम २०८२ साउन २७ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद बरालले  तालिमले विपद् आउँदा उद्धारकर्मी तयार बनाउने र जीवन बचाउने सीप प्रदान गर्ने बताउनु भयो ।

अध्यक्ष बरालले पर्वतीय जोखिमहरू तथा विपद् जोखिमबारे सचेतनासम्बन्धी तालिम प्रभावकारी हुने बताउँदै मौसमजन्य विपद्, हिमपहिरो, पहिरो, आगलागी जतिबेला र जुनसुकै समयमा पनि हुने भएकोले यसतर्फ सबै सजग हुनु पर्ने भनाइ राख्नु भयो ।

तालिमका सहजकर्ता तथा प्रशिक्षक नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, पोखराका इन्स्पेक्टर डा. अकार्शा श्रेष्ठ र उहाँको टोलीले एक्युट माउण्टेन सिक्नेस–एएमएस (लेक लाग्ने), प्राथमिक उपचार साथै सिपिआरसम्बन्धी प्रशिक्षण र एपीएफ विपद् व्यवस्थापनसम्बन्धी सहजीकरण गर्नु भएको थियो ।

गण्डकी प्रदेशका प्रशिक्षक इन्स्पेक्टर विनोद पौडेल र उहाँको टोलीले उच्च हिमाली क्षेत्रमा विपद् व्यवस्थापन, डोरीको प्रयोग र पर्वतीय उद्धारसम्बन्धी व्यावहारिक सत्र सञ्चालन गर्नु भएको थियो ।

इन्स्पेक्टर पौडेलका अनुसार सधैँ जोडीमा काम गर्न, तयारी सहित स्रोतसाधन लिएर हिँड्न, सानो घटना पनि गम्भीर रुपले लिन र सधैँ सतर्क रहन आग्रह गर्नु भयो  ।

डा. अकार्शाका अनुसार, यी सबै अभ्यासहरूले सहभागीहरूलाई विपद् परिस्थितिमा तुरुन्त पहलकदमी लिन सक्षम बनाएको विश्वास लिएको बताउनु भयो  ।

संस्थाका स्वास्थ्य संयोजक एवम् तालिम संयोजक कृष्णप्रसाद पाण्डेले संस्थाले विगत १५ वर्षदेखि विपद् उद्धार, राहत, पुनःस्थापना र सामाजिक विकासमार्फत जीवन सामान्यीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।

उहाँले विभिन्न सरकारी निकाय र स्थानीय तहसँग सहकार्य र साझेदारी गर्दै मानव कल्याणका कामहरू गर्दै आएको पनि बताउनु भयो ।

पाण्डेका अनुसार नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पतालका इन्चार्ज डा. अकार्शाको सक्रियतामा यो विपद् व्यवस्थापन तालिम सफल भएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य शिविर र यस्ता तालिमहरू गर्न साझेदारीको लागि आग्रह गर्नु भयो ।

तालिममा सहभागीहरूलाई खोज तथा उद्धारका आधारभूत सीपहरू, आपतकालीन डोरीको प्रयोग, जमीनबाट आकाशमा दिने सङ्केतहरू (एसोएस भी एक्स), आकस्मिक उद्धार, स्ट्रेचर बिना घाइते बोक्ने तरिका, डण्डी वा अन्य सामग्री प्रयोग गरेर अस्थायी स्ट्रेचर बनाउने विधि र उद्धार निकायसँग समन्वय गर्ने तरिकामा पनि व्यावहारिक प्रशिक्षण भएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताउनु भयो ।

कार्यक्रममा कर्मफ्लाइट्स फाउन्डेशन नेपालले  नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताललाई तीन सिटको बेन्ची पनि प्रदान गरेको कार्यक्रम निर्देशक कुँवरले जानकारी दिनु भयो ।

तालिममा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) कालिका गण पोखराको विपद व्यवस्थापन टोली र नेपाल रेडक्रस सोसाइटी, कास्कीले म्यानिकिनसहितको सिपिआर प्रदान गरिएको थियो ।

कर्मफ्लाइट्सका विपद् व्यवस्थापनमा सक्रिय स्टाफहरू, बोर्डका सदस्य, प्याराग्लाइडिङ पाइलटहरू, कर्मट्रे्क्ससँग आवद्ध गाइडहरू र एपीएफ अस्पतालका अग्रपङ्क्तिका सुरक्षाकर्मीहरू तालिममा ३५ जनाको सक्रिय सहभागिता रहेको र तालिमपछि आफ्नो अनुभव बाँड्दै गाइड र पाइलटहरूले तालिम निकै उपयोगी, सोचेभन्दा पनि धेरै राम्रो भएको र अब पर्वतीय पदयात्रा क्षेत्रमा अझै दक्ष गाइड र उद्धारकर्ता बन्न सीप सिकाएकोमा संस्थाप्रति आभार प्रकट गर्नु भएको थियो ।

Author

Related News