पोखरा । पोखरा महानगरपालिका–१७, बिरौटास्थित गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समितिको अध्यक्षमा दीपेन्द्र शर्मा पौडेल सर्वसम्मत रूपमा चयन हुनु भएको छ ।
नवगठित सञ्चालक समितिको उपाध्यक्षमा पुरुषोत्तम पौडेल, सचिवमा हरिशङ्कर भण्डारी र कोषाध्यक्षमा मातृका सुवेदी चयन हुनु भएको छ ।

यस्तै, समिति सदस्यमा महेन्द्रकुमार देवकोटा, विना थापा, प्रकाश अधिकारी, सोनम केसी र कृष्णप्रसाद पनेरू रहनु भएको छ ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिपेश सापकोटा तथा सदस्यमा डिल्लीराम वाग्ले र मधु पौडेल चयन हुनु भएको छ ।
वार्षिक साधारणसभामा अध्यक्ष दीपेन्द्रराज ढकालले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पुरुषोत्तम पौडेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका सदस्य लेखनाथ अधिकारीले पेश गर्नु भएको लेखा समितिको प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको सहकारीका प्रबन्धक विकास सुवेदीले जानकारी दिनु भयो ।
सहकारीको आर्थिक अवस्था प्रस्तुत गर्दै कोषाध्यक्ष पौडेलले आर्थिक वर्ष २०८१/०८२ सम्म संस्थाको शेयर पुँजी २ करोड ८५ लाख ९३ हजार रुपियाँ कायम भएको जानकारी दिनु भयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म सहकारीको शेयर पुँजी ३ करोड ४९ लाख ९२ हजार रुपियाँ रहेको थियो ।
यस्तै, सहकारीको चालु आर्थिक वर्षमा कुल निक्षेप २ करोड ६२ लाख ४० हजार ८ सय ४८ रुपियाँ पुगेको छ भने गत आर्थिक वर्षको कुल निक्षेप २ करोड ३८ लाख ५१ हजार ४ सय १० रुपियाँ रहेको थियो ।
सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ५ करोड ५८ लाख २७ हजार २१ रुपियाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
कार्यक्रममा उत्कृष्ट कर्जा कारोबारतर्फ कृष्णप्रसाद पनेरू, तारापति सापकोटा र सीता सुवेदी कोइराला, उत्कृष्ट बचत कारोबारतर्फ सोनम केसी, विना थापा र प्रमिला ओझा सुवेदीलाई सम्मान गरिएको थियो ।

यस्तै, ज्येष्ठ शेयर सदस्य हिरामान श्रेष्ठ र धनमाया उपाध्याय, सहकारीका प्रबन्धक विकास सुवेदी तथा कर्मचारी सीता बराल सुवेदीलाई पनि सम्मान गरिएको थियो ।
उत्कृष्ट विद्यार्थी सुवोध चापागाईं, इच्छा सुवेदी, प्रतीक अधिकारी र जेनिशा पौडेललाई समेत सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष ध्रुवराज पनेरू तथा शिक्षा समितिका संयोजक प्रकाश अधिकारीले सहकारीको मूल्य–मान्यता आत्मसात गर्दै पदाधिकारीहरू कर्तव्यबोधका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
सहकारीका अध्यक्ष दीपेन्द्रराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दीपेन्द्र शर्मा पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन सचिव डिल्लीराम पनेरूले गर्नु भएको थियो ।