पोखरा । मानवअधिकार रक्षकहरूको सुरक्षा र संरक्षणबारे गण्डकी प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रम २०८२ साउन ११ गते पोखरामा सम्पन्न भएको छ।
शान्ति, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील संस्था शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा भएको कार्यक्रममा मानवअधिकार रक्षकको अवस्था, चुनौती र संरक्षणका उपायबारे बहस गरिएको थियो।
कोक्यापका अध्यक्ष पुष्प भुसालले संस्थाले सात ओटै प्रदेशमा शाखा स्थापना गरी मानवअधिकार र सामाजिक सुरक्षाका मुद्दामा लामो समयदेखि काम गर्दै आएको बताउनु भयो ।
संस्थाका कार्यकारी निर्देशक सरोज नेपालले शान्ति र सुशासनका सवालमा संस्थाको निरन्तर भूमिका रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा महेश भट्टले गण्डकी प्रदेशमा मानवअधिकारकर्मीहरूको संरक्षणसम्बन्धी अवस्था र चुनौतीबारे सहजीकरण गर्नु भएको थियो ।
नागरिक मञ्च गण्डकीका संयोजक विष्णुप्रसाद बरालले नीति र नियमनको पालना र घटनाका कारण पत्ता लगाउनेतर्फ जोड दिनुपर्ने बताउनु भयो ।
इन्सेक गण्डकीका संयोजक शिवप्रसाद खकुरेलले २०२२–२०२४ को तथ्याङ्क प्रस्तुत गर्दै ६ सय ८ जना मानवअधिकार रक्षक पीडित भएको बताउनु भयो ।
तीमध्ये महिला २ सय ६७ जना र पुरुष ३ सय ४१ जना छन्। पेशागत समूह अनुसार शिक्षक (१५४), पत्रकार (१४६) र स्वास्थ्यकर्मी (११४) जना पीडित भएको संयोजक खकुरेलले बताउनु भयो ।
कार्यक्रममा मानवअधिकार आयोग, नेपाल पत्रकार महासङ्घ, गैर सरकारी संस्था महासङ्घ, मानव अधिकार एलाइन्स, दलित महिला सङ्घ (फेडो), सामाजिक अभियन्ता तथा विभिन्न सरोकारवालाहरूको सहभागिता थियो।
वक्ताहरूले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतको अधिकार सम्बद्ध कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी सहित ३० जना सहभागी थिए।