पोखरा । “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नारालाई आत्मसात् गर्दै २०७५ सालमा स्थापना भएको पोखरा महानगरपालिका–५, जनहितमार्गस्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महिलाको आत्मनिर्भरता अभिवृद्धिमा उदाहरणीय संस्थाका रूपमा स्थापित हुँदै आएको छ ।
स्थानीय समुदाय तथा टोलविकासमा आबद्ध महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ स्थापना गरिएको सहकारीले समयक्रममा उल्लेखनीय प्रगति गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सहकारीकी अध्यक्ष गीतादेवी पौडेलले जानकारी दिनु भयो ।
उहाँका अनुसार सहकारीले समयानुकूल विभिन्न प्रजातिका तरकारीका बीउ–विजन वितरण, बेर्ना उत्पादन, क्षमता अभिवृद्धि तथा स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आएको छ ।
सहकारी तथा मन्टेश्वरी सञ्चालनका क्रममा थुप्रै चुनौतीहरूको सामना गर्नुपरे पनि आपसी समझदारी, सहकार्य र सकारात्मक संवादमार्फत ती समस्याहरू समाधान गर्दै संस्था थप सक्षम र सबल बन्दै गएको अध्यक्ष पौडेलको भनाइ छ ।
सरोकारवाला निकायको सुझाव र सद्भावकै कारण सहकारी निरन्तर प्रगतिपथमा अघि बढिरहेको र अझ धेरै गर्न बाँकी रहेको उहाँले बताउनु भयो ।
सहकारीकी निर्वतमान अध्यक्ष चन्द्रावती गैरे अधिकारीले सहकारीमार्फत महिलाहरू स्वरोजगारको बाटोमा अग्रसर बन्दै गएको उल्लेख गर्दै अझ धेरै महिलालाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
महिलाले नेतृत्व गरेको धारापानी सहकारी सफलताको दिशामा अघि बढिरहेको उहाँको भनाइ छ । सहकारीमा नेतृत्व तहदेखि साधारण सदस्यसम्म सबै महिला दिदीबहिनीहरू आबद्ध रहनु संस्थाको विशिष्ट पहिचान बनेको छ ।
महिला दिदीबहिनीहरूको सक्रिय सहभागिताकै कारण सहकारीले धारापानी मन्टेश्वरी पनि सञ्चालन गरिरहेको छ ।
मन्टेश्वरी व्यवस्थापन समिति अध्यक्ष कमला अधिकारी त्रिपाठीका अनुसार २०७७ सालमा स्थापना भएको उक्त पूर्व–प्राथमिक तहको विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएको छ ।
प्रिनर्सरीदेखि कक्षा १ सम्म अध्यापन हुँदै आएको मन्टेश्वरीमा हाल ३५ बालिका र ४५ बालक गरी ८० जना विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षिका तथा कर्मचारी कार्यरत छन्, जसमा सबै महिला नै रहेका छन् ।
मन्टेश्वरी पद्धतिमार्फत बालमैत्री, शान्त र सुरक्षित वातावरणमा प्रयोगात्मक सिकाइ, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, तालिमप्राप्त शिक्षिका र आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिएको अध्यक्ष त्रिपाठीले बताउनु भयो ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा सहकारीकी सल्लाहकार हरिमाया विश्वकर्माले खुशी पैसा, पद वा प्रतिष्ठामा नभई अरूको जीवनमा मुस्कान ल्याउँदा प्राप्त हुने बताउँदै सहकारीमार्फत धारापानी क्षेत्रका महिलाहरू आत्मनिर्भर बन्दै गएकोमा खुशी व्यक्त गर्नु भयो ।
उहाँका अनुसार सहकारीमार्फत पूँजी परिचालन गरी महिलाहरूलाई स्वरोजगारतर्फ प्रेरणा, ऊर्जा र आत्मविश्वास बढेको छ ।
सहकारीको २०८२ असार मसान्तसम्मको वित्तीय अवस्थाले पनि संस्थाको सबलता पुष्टि गर्छ। सहकारीको शेयर पूँजी एक करोड २ लाख ७६ हजार ५ सय रुपियाँ पुगेको छ भने निक्षेप रकम १ करोड ७७ लाखभन्दा बढी रहेको छ ।
यसैगरी कर्जा लगानी १ करोड ८२ लाख रुपियाँभन्दा बढी पुगेको छ भने स्थिर सम्पत्ति, बैङ्क मौज्दात र नगद मौज्दातसमेत सन्तोषजनक अवस्थामा रहेको छ । हाल सहकारीमा १ सय ६२ जना महिला शेयर सदस्य आबद्ध छन् ।
सहकारीले महिलालाई आत्मनिर्भर बनाउन समयसापेक्ष बोल्ने कला, क्षमता अभिवृद्धि तालिम, शैक्षिक भ्रमण लगायतका कार्यक्रम सञ्चालन गर्नुका साथै आत्मनिर्भरतालाई सहयोग पुग्ने गरी ऋण प्रवाहसमेत गर्दै आएको अध्यक्ष पौडेलले बताउनु भयो ।
मन्टेश्वरीकी प्रिन्सिपल शारदादेवी शर्माका अनुसार सहकारी नाफा र घाटाको मात्र विषय नभई सेवा, सहानुभूति र मानवता विकास गर्ने माध्यम हो ।
“खुशी बजारमा किन्न पाइँदैन, खुशी अरूको सेवामा भेटिन्छ, र त्यो सेवाको सबैभन्दा सुन्दर माध्यम सहकारी हो ।”-उहाँले भन्नु भयो ।
सेवा, सहकार्य र आत्मनिर्भरताको संस्कार बोकेको धारापानी महिला सहकारी आज महिलाहरूका लागि प्रेरणाको केन्द्र बनेको छ ।