पोखरा । “सम्पूर्ण गुरूङ कलाकारहरु एक होऔं” “तमु कलाकार कल्याणकारी कोष” स्थापना गर्ने पवित्र, दीर्घकालीन र सामाजिक उत्तरदायित्त्वयुक्त उद्देश्यका साथ तमु (गुरुङ) कलाकार सङ्घ नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा “धनबहादुर गुरुङ साङ्गीतिक साँझ-२०८२” २०८२ फागुन ३ गते पोखरा रङ्गशाला स्थित भलिवल ट्रेनिङ सेन्टरमा हुने २०८२ पुस ३ गते आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
“गुरुङ गीत सङ्गीतका युग नायक”धनबहादुर गुरुङले २०४५ सालदेखि हाल सम्मका सुप्रसिद्ध ५ हजार भन्दा बढी गीतहरु गाइसक्नु भएको छ ।
उक्त साङ्गीतिक साँझमा बर्खे खजे….. क्युदे थुलेन दुख मुना…… ख्वालबै माया….. खो रिमै थुमै…… छ्याँबाहानी डोल्स्यो नी….. माया पिरती….. आयादो ठागु…… ताङतिङेको मेलैमा….. लगायतका गीतहरू गुञ्जनेछन् ।
तमू (गुरुङ) कलाकार सङ्घ नेपाल गण्डकी प्रदेश समितिको नेपाली गीत-सङ्गीत क्षेत्रलाई अनगिन्ती कालजयी, कर्णप्रिय, लोकप्रिय तथा सन्देशमूलक सिर्जनाहरू प्रदान गर्दै राष्ट्रको कला, संस्कृति र सांगीतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न अतुलनीय योगदान पुऱ्याउनुभएका, साथै नेपाली साङ्गीतिक इतिहासमा गायक, सङ्गीतकार र सङ्गीत संयोजकका रूपमा आफ्नै विशिष्ट, सम्मानित स्थान हासिल गर्न सफल विशिष्ट कलाकार धनबहादुर गुरुङको बहुआयामिक योगदानको उच्च कदर र सम्मान स्वरूप कार्यक्रम सम्पन्न गर्नका लागि अनुमानित १७ लाख ५० हजार रुपियाँको लागत लाग्ने अनुमान गरिएको छ ।
यसबाट ११ लाख ७५ हजार रुपियाँ बचत गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक तथा परिकल्पनाकार गोरे गुरूङले जानकारी गराउनु भयो ।
धनबहादुर गुरुङ साङ्गीतिक साँझ-२०८२ हेर्न जानेहरूको लागि ३ सय रुपियाँको टिकट तोकिएको छ ।
कार्यक्रमले केवल एक व्यक्तिको सम्मान मात्र नगरी तमु (गुरुङ) समुदायको मौलिक कला, संस्कृति, भाषा र सङ्गीतको प्रवर्धन गर्दै समग्र नेपाली साङ्गीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने विश्वास कलाकार सङ्घ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष विक्रम गुरूङले बताउनु भयो ।
गुरुङ गीत सङ्गीतका युग नायक धनबहादुर गुरुङले कार्यक्रमलाई सफल, प्रभावकारी सन्देश प्रवाह तथा आम नागरिकसम्म यसको उद्देश्य र महत्व पुऱ्याउन सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण र अपरिहार्य रहने भएकाले यस ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कार्यक्रममा समाचार प्रकाशन, प्रसारण, अन्तर्वार्ता, विशेष सामग्री तथा प्रचार-प्रसारमार्फत सहयोग गरिदिनुहुन सम्पूर्ण रेडियो, टेलिभिजन, अनलाइन तथा डिजिटल सञ्चारमाध्यम र सञ्चारकर्मीहरुमा हार्दिक अनुरोध गर्नु भएको थियो ।