मानव आवाज

२०८२ चैत्र ५ गते
00: 00: 00
२०८२ चैत्र ५ गते

सिन्धुलीमा २८ मध्ये २१ उम्मेदवारको जमानत जफत

रुद्रबहादुर खड्का, सिन्धुली

सिन्धुली जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

जिल्लाका दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका २८ जनामध्ये २१ जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कानुनी प्रावधानअनुसार खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।

सोही आधारमा सिन्धुलीका अधिकांश साना दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले जानकारी दिनु भयो ।

उहाँका अनुसार ठूला राजनीतिक दलका उम्मेदवार मात्रै जमानत जोगाउन सफल भएका छन् ।

“राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवारको मात्रै जमानत जोगिएको देखियो ।”-विष्टले भन्नु भयो ।

यस निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी बनेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा नौ जनाको जमानत जफत भएको छ ।

यस क्षेत्रमा कुल १ लाख १० हजार ३ सय ९१ मतदातामध्ये ६० हजार ६ सय ७५ मत खसेको थियो । तीमध्ये ३ हजार ३ सय ९५ मत बदर भई ५७ हजार २ सय ८० मत सदर भएको थियो ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पाँच स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १२ जनाको जमानत जफत भएको छ ।

यस क्षेत्रमा १ लाख ४ हजार ६ सय २८ मतदातामध्ये ५६ हजार ८ सय ३ मत खसेको थियो । तीमध्ये ३ हजार १ सय ४२ मत बदर भई ५३ हजार ६ सय ६१ मत सदर भएको कार्यालयले जनाएको छ ।

जिल्लामा सम्पन्न निर्वाचनले ठूला दलको प्रभाव कायम रहँदा साना दल र स्वतन्त्र उम्मेदवारको मत प्रभाव कमजोर रहेको देखिएको छ ।

Author

Related News