पोखरा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा सञ्चालित डेङ्गु रोग सङ्क्रमण रोकथाम कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका-५ स्थित बाराही माध्यमिक विद्यालयमा डेङ्गुसम्बन्धी सचेतना तथा खोज-नष्ट अभियान सम्पन्न भएको छ ।
२०८३ असोज २० गते सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा सरोकारवालालाई डेङ्गु सङ्क्रमणबाट बच्ने उपायबारे जानकारी दिइनुका साथै विद्यालय परिसरमा डेङ्गु फैलाउने एडिज जातको लामखुट्टेको सम्भावित बासस्थान पहिचान गरी खोज तथा नष्ट अभियान सञ्चालन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति रमा कोइरालाले विद्यालयका बालबालिकामार्फत समुदायसम्म डेङ्गुसम्बन्धी सचेतना विस्तार गर्न सकिने बताउनुभयो ।
विद्यालय र समुदायमा नियमित रूपमा डेङ्गुको सम्भावित बासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिन सके कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले विद्यालयमा शिक्षक, विद्यार्थी तथा अभिभावकसमेत डेङ्गु सङ्क्रमणबाट प्रभावित भएको उल्लेख गर्दै सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा विद्यालयमा सञ्चालन गरिएको सचेतना कार्यक्रम उपयोगी भएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले वर्षायाममा कास्की जिल्ला डेङ्गुको उच्च जोखिममा रहने आकलन गर्दै विगत केही वर्षदेखि सङ्क्रमण रोकथामका लागि विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
विद्यालयमा अभिमुखीकरण तथा जोखिमयुक्त समुदायमा खोज-नष्ट अभियानमार्फत सचेतना फैलाउनु र डेङ्गु सङ्क्रमण रोक्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रेडक्रसले जनाएको छ ।
अभियानअन्तर्गत विद्यार्थी तथा समुदायको सहभागितामा पानी जम्ने भाँडाकुँडा, बोतल, प्लास्टिकका सामग्री, गमला, फ्रिज तथा एसीबाट निस्कने पानीलगायत लामखुट्टेले प्रजनन गर्न सक्ने स्थान पहिचान गरी सरसफाइ तथा नष्ट गर्ने कार्यलाई अघि बढाइएको छ ।
पोखरामा बढ्दो तापक्रम, अव्यवस्थित बस्ती तथा विभिन्न स्थानमा पानी जम्ने अवस्था एडिज जातको लामखुट्टेका लागि अनुकूल वातावरण बनेको कार्यक्रमका क्रममा जानकारी दिइएको थियो ।
डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको तथा आँखाको वरिपरि दुख्ने, शरीर तथा जोर्नी दुख्ने र शरीरमा बिमिरा देखिनेलगायतका लक्षण देखिन सक्ने बताइएको छ ।
सङ्क्रमण गम्भीर बनेमा रक्तस्रावसमेत हुन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिन आग्रह गरिएको थियो । चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्नसमेत सहभागीलाई सुझाव दिइएको थियो ।
कार्यक्रममा शिक्षक नायक राधा तिमिल्सिना, विद्यालय स्वास्थ्य कार्यक्रमकी नर्स अञ्जना सिग्देललगायतले डेङ्गु सङ्क्रमण रोकथामका विषयमा धारणा राख्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यक्रम फोकल पर्सन तथा सूचना अधिकारी नवराज भण्डारी र शाखाका कर्मचारी दीपकनाथ भण्डारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । जुनियर रेडक्रस सर्कलकी अध्यक्ष मिना डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।