विराटनगर । उद्योग सङ्गठन मोरङले सुनसरी जिल्लाको बर्जु गाउँपालिका-५ अमडुवामा रहेको साल्ट ट्रेडिङ लिमिटेडको करिब ६ सय बिगाहा सरकारी स्वामित्वको जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न सरकारसमक्ष प्रस्ताव पेस गरेको छ।
विराटनगरमा २०८२ साउन १४ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तसँग भएको छलफलमा उद्योग सङ्गठन मोरङले औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेको हो।
छलफलका क्रममा अध्यक्ष पन्तले औपचारिक प्रस्तावपत्र पठाउन सुझाव दिँदै सञ्चालक समितिको बैठकमा विषय प्रवेश गराई नेपाल सरकारसमक्ष निष्कर्ष पेश गरिने आश्वासन दिनु भयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अमडुवाको जग्गा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त भएको उल्लेख गर्दै सकारात्मक पहलको आग्रह गर्नु भयो ।

विराटनगरका उद्योगीहरूले सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका साना, मझौला र ठूला गरी करिब ७ सय उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै अबको सम्भावित औद्योगिक विस्तार अमडुवामा गर्नुपर्ने सुझाव दिएका हुन् ।
साल्ट ट्रेडिङ लिमिटेडको जग्गा भारतको जोगबनी नाकाबाट करिब २ किलोमिटर दूरीमा रहेकाले आयातित कच्चा पदार्थ ढुवानीमा सहजता र लागत कटौती हुने उद्योगीहरूको भनाइ छ ।
छलफलका क्रममा अध्यक्ष पन्तले राजविराजस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा पनि साना तथा मझौला उद्योगका लागि अवसर खुला रहेको जानकारी दिनु भयो ।
यो औद्योगिक क्षेत्रका कार्यालय प्रमुख मनिषकुमार मिश्रले हाल ८९.९१ रोपनी क्षेत्रफलमा १५ ओटा उद्योगका लागि पूर्वनक्शाङ्कन भइसकेको र ५-८ रोपनीसम्मको भू-भाग छुट्याइएको बताउनु भयो ।
छलफलमा उद्योग सङ्गठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष सुबोध कोइराला, कोषाध्यक्ष पारस लुनिया, मोरङ उद्योग व्यापार सङ्घ विराटनगरका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसहित उद्योगी व्यवसायी सहभागी थिए ।