काठमाडौँ । नेपाल जेनजी फ्रन्टले देशभित्रै आफ्नो गृहजिल्लाबाहेक अन्य ठाउँमा बसोबास गर्ने नेपालीहरूलाई सहज रूपमा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने मागसहित २०८२ मङ्सिर ८ गते निर्वाचन आयोगमा औपचारिक मागपत्र बुझाएको छ ।
अभियान समिति सदस्य अमृता बन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, सदस्यहरू ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतका युवाहरू आयोगमा उपस्थित भई मागपत्र बुझाउनु भएको हो । मागपत्रमा प्रवासी नेपाली नागरिकको मताधिकारप्रति पनि ध्यानाकर्षण गराइएको छ ।
मागपत्र बुझाएपछि आयोगले आवश्यक तयारी सम्भव भएको र सरकारबाट कानूनी तथा प्राविधिक सहयोग प्राप्त भएमा व्यवस्था कार्यान्वयनयोग्य हुने सङ्केत दिएको जेनजी अभियन्ता विनिता बोगटीले जानकारी दिनु भयो ।
जेनजी फ्रन्टले बुझाएको मागपत्रमा नेपालको संविधानले १८ वर्ष पुगेका सबै नागरिकलाई प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गरे पनि प्रवासी नेपाली र गृहजिल्लाबाहिर अध्ययन, रोजगारी तथा अन्य कारणले बसोबास गर्ने लाखौँ नागरिक व्यवहारिक रूपमा मताधिकारबाट वञ्चित हुँदै आएको उल्लेख गरिएको छ ।
देशभित्रै लाखौँ नेपाली विभिन्न जिल्लामा बसोबास गरिरहेकाले उनीहरूलाई सहज रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सकिने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ ।
मागपत्रको अन्त्यमा संवैधानिक अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यहरूको सुदृढीकरणमा निर्वाचन आयोगको भूमिका निर्णायक हुने उल्लेख गर्दै आयोगले यस विषयमा सकारात्मक र ठोस कदम लैजाने आशा व्यक्त गरिएको छ ।

