मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मिडिया काउन्सिल विधेयकमा संशोधनको माग, आन्दोलनको चेतावनी

ललितपुर । पत्रकारसँग सम्बन्धित पाँचओटा सङ्गठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले संयुक्त प्रेस वक्तव्यमार्फत यस्तो चेतावनी दिनु भएको हो ।

वक्तव्यमा प्रतिनिधिसभामा विचाराधीन मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान र छापाखाना तथा प्रकाशन ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी बनेको नयाँ व्यवस्थाबारे गम्भीर ध्यानाकर्षण गराइएको छ ।

ति सङ्गठनका अनुसार विषयगत समितिमा छलफलमा रहेको विधेयक सरकार नियन्त्रित र प्रतिगामी छ, जसले पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचित बनाउँछ ।

‘यसले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, संविधानले प्रत्याभूत गरेको स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति २०७३, आमसञ्चार क्षेत्र सुधार समितिको सुझाव र सरोकारवाला पक्षसँगको समझदारीलाई बेवास्ता गरेको छ ।’-वक्तव्यमा उल्लेख छ।

विज्ञप्तिमार्फत स्वतन्त्र, स्वायत्त र सक्षम मिडिया काउन्सिल स्थापना गर्न आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

सरकारको प्रेसप्रतिको अनुदारता र प्रेस स्वतन्त्रता विरोधी रवैयाको पुष्टि भएको भन्दै पाँच मिडिया सङ्गठनका नेताहरूले तत्काल माग सम्बोधनका लागि सरकार, संसद र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । उहाँहरूले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिनु भएको छ ।

Author

Related News