रूद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुलीको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र पावर हाउस निर्माणको काममा ढिलासुस्ती भएसँगै नेपाल सरकारले निर्माण कम्पनी रमण पटेल जेभिसँग ठेक्का तोडेदिएको छ ।
२०८२ कात्तिक २४ गते सिंचाई विभागले निर्माण कम्पनीसँग ठेक्का तोड्ने निर्णय गरेको हो । सुरुङ छिचोलिएको डेढ वर्ष भइसक्दा सक्दा पनि बाँध निर्माणले गति लिन नसकेको छ र पटक पटक ताकेता गर्दा पनि काम अगाडि नबढेसँगै सरकारले ठेक्का तोड्ने निर्णय गरेको छ ।
आयोजनाको बाँध निर्माण, तथा पावर हाउस निर्माणको जिम्मा लिएको पटेल रमण जेभिले समयमा काम नगर्दा काममा ढिलाई भएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको हो ।
सम्झौता गरे अनुसार ३४ महिनामा ११ प्रतिशत मात्र भौतिक प्रगति गरेको आयोजनाका इन्जिनियर अशोकराज गौतमले बताउनु भयो ।
उहाँका अनुसार आयोजनाको मोविलाईजेसन पेश्की सहित १५ दशमलब २ प्रतिशत मात्र आर्थिक प्रगति भएको उल्लेख गरिएको छ ।
आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल रमण जेभीले कार्यसम्पादन जमानतबापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपियाँ बैङ्क ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ ।
आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण, हात्तिटारमा रहेको माझी बस्तीको जग्गा उकास, विपी राजमार्ग डाइभर्सन रोड निर्माण र विद्युतको पावर हाउस तथा सर्जसफ्ट निर्माणका लागि निर्माण कम्पनीले जनवरी १, २०२३ मा आयोजनाको कामको ठेक्का लिएको थियो । सम्झौताको १६ सय ५० दिन अर्थात साढे चार वर्ष उक्त ठेक्काको अवधि रहेको थियो ।
अनुमानित लागत भन्दा ३२ प्रतिशत कम रकम अर्थात १४ अर्व ७ करोड ५९ लाख ९ हजार ३ सय १९ रुपियाँमा ठेक्का लिएको निर्माण कम्पनीले विभिन्न बाहना देखाउँदै काममा तदारुकता नदेखाएका कारण ठेक्का तोड्नु परेको आयोजनाले जानकारी दिएको छ ।
सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १ सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३.३ किलोमिटर लम्बाइको सुरुङ मार्फत कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा पानी खसालिने गरी आयोजनाको निर्माण सुरु भएको थियो ।
सुनकोशीमा ६६.२९ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेघावाट विद्युत् उत्पादन गरिने आयोजनाको लक्ष्य रहेको छ भने मरिणमा झारिएको पानी बागमतीमा मिसाई बागमती सिंचाई आयोजना मार्फत तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्याउने सरकारको अनुमान छ ।
सुरुङको ‘ब्रेक थ्रु’ २२ महिनाभित्र गर्ने लक्ष्य सरकारको थियो तर सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनबाट १८ महिनामा २०८१ वैशाख २६ गते सुरुङ निर्माणको काम सकेको थियो । अहिले सुरुङ फिनिसिङको सबै काम सकिएको आयोजनाले जनाएको छ ।