रुद्रबहादुर खड्का, सिन्धुली ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डेकेन्द्रप्रसाद सुवेदीले आसन्न फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक प्रतिबद्धतापत्र सार्वजनिक गर्नु भएको छ ।
प्रतिबद्धता पत्रमा उहाँले राजनीतिक स्थिरता, सुशासन र संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र डिजिटल प्रशासनमा जोड दिने बताउनु भएको छ ।
सर्वसुलभ तथा गुणस्तरीय शिक्षाका लागि प्रविधि र जनशक्ति लगानी बढाइने, स्वास्थ्य बीमा सेवाको दायरा विस्तार गरिने तथा सर्पदंश बीमालाई प्राथमिकता दिइने उल्लेख छ ।
कृषि क्षेत्रमा आधुनिक प्रविधि, थोपा सिंचाइ, शीतभण्डारण, ब्रान्डिङ र बजारीकरणमार्फत किसानको आय वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ ।
कमला करिडोरअन्तर्गत तटबन्ध सुदृढीकरण, भिमान-कमलाखोज सिंचाइ आयोजना, विभिन्न सडक स्तरोन्नति तथा धार्मिक पर्यटन मार्ग विकासका कार्यक्रमसमेत समेटिएका छन् ।
यसैगरी “डिजिटल सिन्धुली” अवधारणाअन्तर्गत स्थानीय सरकारी सेवाहरूलाई डिजिटल बनाउने, सुनकोशी तटबन्धन, लिफ्ट सिंचाइ आयोजना तथा सिन्धुली गढी-महाभारत संरक्षण क्षेत्र घोषणा गर्न पहल गरिने सुवेदीले जनाउनु भएको छ ।