ललितपुर । नेपालस्थित अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी काठमाडौंसहित विभिन्न स्थानमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ-‘यी घटनाका कारण निर्दोष नागरिकको ज्यान जाने दुःखद अवस्था सिर्जना भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौँ । पीडित परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं र घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
साथै, दूतावासहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः दोहोर्याएका छन् ।
विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन, परिस्थितिलाई थप बिग्रन नदिई शान्तिपूर्ण सम्वादमार्फत समाधान खोज्न र मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आह्वान गरिएको छ।
