मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रतिनिधिसभा निर्वाचन हुने–नहुने बहस निरर्थक

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको भन्दै अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने बहस निरर्थक भइसकेको बताउनु भएको छ ।

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन सत्रलाई २०८२ पुस ९ गते सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थामा निर्वाचन नै निर्विकल्प समाधान भएको स्पष्ट पार्नु भयो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनसँग सम्बन्धित राजनीतिक विषय राजनीतिक तवरबाट नै समाधान हुने उल्लेख गर्दै आयोगले राजनीतिक तथा कानुनी रूपमा समाधान भइसकेका विषयलाई कार्यान्वयनमा शिरोपर गर्ने नीति लिएको बताउनु भयो ।

उहाँले समानुपातिक प्रणाली अन्तर्गत बन्दसूची पेस गर्दा जात, भाषा, वर्ग तथा भूगोलको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुने गरी र कुनै पनि त्रुटि नहुने गरी पेश गर्न राजनीतिक दलहरूलाई आग्रह गर्नु भयो ।

यो अवसरमा उहाँले निर्वाचन आयोगबाट जारी आचारसंहिताको पूर्णरूपमा पालना गर्न पनि दलहरूलाई स्मरण गराउनु भयो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निषेधको राजनीति त्याग्दै सबै दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिनु भयो ।

Author

Related News