मानव आवाज

२०८३ श्रावण २२ गते
00: 00: 00
२०८३ श्रावण २२ गते

बहिरा विद्यार्थीद्वारा खाजा घर र युनिसेक्स पार्लर सञ्चालन

सिन्धुली । बहिरा विद्यार्थी तथा युवालाई सीपमूलक शिक्षामार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिका-६, जोसेदमारस्थित नवज्योति बहिरा माध्यमिक विद्यालयमा व्यवसाय व्यवस्थापन कार्यक्रमअन्तर्गत “डे काइन्ड बाइट” नामक खाजा घर (होटल) र “साई एण्ड साई” नामक युनिसेक्स पार्लर सञ्चालनमा ल्याइएको छ ।

कमलामाई नगरपालिकाको समन्वय, प्लान इन्टरनेशनल नेपाल र हाउस नेपाल, सिन्धुलीको साझेदारी तथा नवज्योति बहिरा माध्यमिक विद्यालयको आयोजनामा विद्यालयमा सञ्चालित व्यावसायिक तथा युवा रूपान्तरण परियोजनाअन्तर्गत यी व्यवसाय स्थापना गरिएको हो ।

परियोजनाले विशेष क्षमता भएका विद्यार्थी तथा युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने लक्ष्य राखेको विद्यालयले जनाएको छ ।

परियोजनाअन्तर्गत विद्यालयमा अध्ययनरत तथा समुदायका ४८ जना विद्यार्थी र युवालाई होटल व्यवस्थापन, ब्युटिसियन तथा हेयर पार्लरसम्बन्धी सीपमूलक तालिम प्रदान गरिएको छ ।

कार्यक्रम २१ लाख ५८ हजार रुपियाँको लागतमा सञ्चालन गरिएको हो । यसअन्तर्गत २९ जना सहभागीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक उपकरण, व्यवस्थापकीय सहयोग तथा प्राविधिक सहजीकरणसमेत उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै हाउस नेपाल, सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीले बहिरा अपाङ्गता भएका व्यक्तिलाई औपचारिक शिक्षामा मात्र सीमित नराखी सीप, रोजगार र उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

उनले यस्ता कार्यक्रमले सहभागीहरूको आत्मविश्वास बढाउनुका साथै आर्थिक र सामाजिक सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कमलामाई नगरपालिका-६ का वडाध्यक्ष उज्ज्वलकुमार थापाले विद्यालयका विद्यार्थीहरूले आफ्नै सीप र मेहनतका आधारमा व्यवसाय सञ्चालनमा ल्याएको पहल समावेशी शिक्षा, व्यावसायिक दक्षता र आर्थिक सशक्तीकरणको उत्कृष्ट उदाहरण भएको बताउनुभयो ।

उहाँले विशेष क्षमता भएका बालबालिका तथा युवालाई अवसर उपलब्ध गराए उनीहरू सफल उद्यमी बन्न सक्ने सन्देश यस कार्यक्रमले दिएको उल्लेख गर्नुभयो ।

विद्यालयका अनुसार “डे काइन्ड बाइट” खाजा घर र “साई एण्ड साई” युनिसेक्स पार्लरमार्फत विशेष क्षमता भएका विद्यार्थी तथा युवाले आफ्नै सीप प्रयोग गरी स्वरोजगार सिर्जना गर्ने अवसर पाउनेछन् ।

यसले समावेशी विकास, आर्थिक आत्मनिर्भरता र सम्मानजनक जीवनयापनको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Author

Share the News

Recent News

Related News