पोखरा । जिल्ला समन्वय समिति महासङ्घ नेपाल गण्डकी प्रदेश समितिले “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नारासहित आफ्नो ३१ औँ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा महासङ्घले २०८२ माघ ११ गते पोखरामा “सङ्घीयतामा जिल्ला समन्वय समितिको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम जिल्ला समन्वय समिति कास्कीको सहयोग तथा समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय सदस्यद्वय माया गुरुङ र अम्बरबहादुर थापाले संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सङ्घीयताको मर्मअनुसार जिल्ला समन्वय समितिहरूलाई सशक्त बनाउन सङ्घ र प्रदेश सरकारसँग पटक–पटक आग्रह गरिए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको गुनासो गर्नु भयो ।
उहाँले सीमित स्रोतसाधन र विद्यमान कानुनी व्यवस्थाकै बीच पनि जिल्ला समन्वय समितिहरूले आफ्नो आवश्यकता र औचित्य पुष्टि हुने गरी काम गरिरहेको उल्लेख गर्नु भयो ।
साथै समयसापेक्ष कानुनी संरचना निर्माणका लागि सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गर्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, बागलुङका प्रमुख अम्बरबहादुर थापा, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला विकास समिति तनहुँका पूर्व सभापति रामचन्द्र पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले “सङ्घीयतामा जिल्ला समन्वय समितिको भूमिका” विषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले विगतका कार्यक्रमहरूको समीक्षा तथा आगामी योजनाबारे छलफल भएको जानकारी दिनु भयो ।
उहाँले विकास निर्माणका क्षेत्रमा जिल्ला विकास समिति हुँदै हालको जिल्ला समन्वय समितिसम्म आइपुग्दा महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको उल्लेख गर्दै समितिहरूलाई थप प्रभावकारी बनाउन सङ्घ र प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
जिल्ला समन्वय समिति महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सोमबहादुर जिसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सरस्वती बगालेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख, समन्वय अधिकारी, महासङ्घका सदस्यहरू, सरोकारवाला सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।