मानव आवाज

२०८३ असोज २६ गते
00: 00: 00
२०८३ असोज २६ गते

विकृति र विसङ्गति निरुत्साहित गर्दै सभ्य समाज निर्माणमा डेभिस फल्स क्लब सक्रिय

पोखरा । पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित डेभिस फल्स क्लबले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबको आयोजनामा २०८३ असोज २४ गते आयोजित कार्यक्रममा चाडपर्वका नाममा हुने अनावश्यक तडकभडक, विकृति र विसङ्गतिलाई निरुत्साहित गर्दै सभ्य, सुसंस्कृत र जिम्मेवार समाज निर्माणमा सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विजयराज आचार्यले क्लब र गुफा व्यवस्थापन समितिबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सामाजिक गतिविधिमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले क्लबलाई अभिभावकत्व प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै क्लबबाट प्रस्तुत हुने उपयुक्त प्रस्तावलाई समितिले सकारात्मक रूपमा लिने र आवश्यक सहयोगका लागि पहल गर्ने धारणा राख्नुभयो ।

उहाँले दुवै संस्थाबिचको सहकार्यलाई संस्थागत विकास र सामुदायिक हितसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

क्लबका सल्लाहकार श्रीराम सुवेदीले वर्तमान सामाजिक परिवेशमा सामाजिक संस्थाहरूको भूमिका अझ जिम्मेवार र परिणाममुखी हुनुपर्ने बताउनुभयो ।

चाडपर्वलाई औपचारिक शुभकामना आदानप्रदानमा मात्र सीमित नराखी सामाजिक सद्भाव, आपसी सम्मान र सकारात्मक संस्कार प्रवर्धन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले चाडपर्व मनाउने क्रममा देखिने अनावश्यक तडकभडक, विकृति र विसङ्गतिलाई निरुत्साहित गर्दै सभ्य तथा सुसंस्कृत समाज निर्माणमा क्लबले अग्रसरता लिनुपर्ने धारणा राख्नुभयो ।

क्लबका अध्यक्ष दीपक सुवेदीले संस्थागत विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्लबका गतिविधिलाई प्रभावकारी बनाउन पदाधिकारी, सल्लाहकार, स्थानीय टोल विकास संस्था तथा सरोकारवाला निकायबिच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

सामाजिक संस्थाको सफलता कार्यक्रमको सङ्ख्यामा मात्र नभई त्यसले समुदायमा पार्ने सकारात्मक प्रभाव, जनसहभागिता र निरन्तरतामा निर्भर रहने उल्लेख गर्दै उहाँले आगामी दिनमा सामाजिक सेवा, खेलकुद र सामुदायिक आवश्यकतासँग सम्बन्धित कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाइने बताउनुभयो ।

कार्यक्रममा क्लबअन्तर्गतको फुटबल टिमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, खेलमैदानको व्यवस्थापन तथा स्तरोन्नतिका सम्भावना पहिचान गर्ने र फुटसल प्रतियोगिता आयोजना गर्ने विषयमा छलफल भएको थियो ।

साथै, क्लबले हरेक वर्ष चाडपर्वको अवसरमा सञ्चालन गर्दै आएको ‘उज्यालो टोल’ कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

उज्यालो टोल कार्यक्रमलाई प्रभावकारी बनाउन आसपासका टोल विकास संस्थाहरूलाई आवश्यक प्रस्तावना पेस गर्न क्लबले आह्वानसमेत गरेको छ ।

क्लबका गतिविधिलाई दीर्घकालीन योजना, युवाको सहभागिता र सामुदायिक आवश्यकतासँग जोडेर अघि बढाउनुपर्नेमा पनि जोड दिइएको थियो ।

यसैबीच, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिमा विभिन्न पदमा निर्वाचित क्लबका पदाधिकारी तथा सल्लाहकारहरूलाई कार्यक्रममा बधाई ज्ञापन गरिएको थियो ।

समितिको अध्यक्षमा विजय राज आचार्य, वरिष्ठ उपाध्यक्षमा युवराज लामिछाने, सहसचिवमा ऋषिराम बराल र सहकोषाध्यक्षमा क्लबका पूर्वअध्यक्ष पुष्पराज बराल निर्वाचित हुनुभएकोमा बधाई दिइएको हो । त्यसैगरी, सदस्यमा निर्वाचित दिपेन्द्र सुवेदीलाई पनि बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष खेमराज बराल ‘पुष्प’ र विनम गुरुङ, गुप्तेश्वर सिर्जनशील मञ्चका अध्यक्ष एवम् क्लबका कोषाध्यक्ष शिवम शाही, प्रथम उपाध्यक्ष शिविर श्रेष्ठ र द्वितीय उपाध्यक्ष वेद थापाले व्यक्तिगत तथा आफूले प्रतिनिधित्व गर्ने सामाजिक सङ्घसंस्थाका तर्फबाट चाडपर्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।

क्लबका अध्यक्ष दीपक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गणेश जिसीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार