पोखरा । पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित डेभिजफल क्लबको पहलमा छोरेपाटन प्रहरी चौकीलाई कार्यालय प्रयोजनका लागि एक ओटा मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
मोटरसाइकल २०८२ कात्तिक १७ गते एक समारोहका बिच क्लबका अध्यक्ष विनम गुरुङले प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गौतम श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा अध्यक्ष गुरुङले प्रहरी सेवा अझ चुस्त-दुरुस्त र सर्वसुलभ होस् भन्ने उद्देश्यले क्लबले मोटरसाइकल प्रदान गरेको बताउनु भयो ।
उहाँका अनुसार क्लबको सक्रियतामा करिब २ लाख ३० हजार रुपियाँमा मोटरसाइकल खरिद गरिएको हो भने बाँकी १ लाख रुपियाँ गुप्तेश्वर गुफा व्यवस्थापन समितिबाट सहयोग प्राप्त भएको थियो ।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले सामाजिक उत्तरदायित्वअनुसार क्लबले गरेको यो योगदान उदाहरणीय रहेको बताउँदै स्थानीय संस्थाहरूले यसबाट प्रेरणा लिन सक्ने उल्लेख गर्नु भयो ।
त्यस्तै, प्रहरी सहायक निरीक्षक श्रेष्ठले क्लबप्रति आभार व्यक्त गर्दै उक्त सवारी साधनले स्थानीय नागरिकको शान्ति सुरक्षा, सिद्धार्थ राजमार्गमा हुने सडक दुर्घटना नियन्त्रण तथा अपराध अनुसन्धानमा छिटोछरितो सेवा प्रदान गर्न मद्दत गर्ने बताउनु भयो ।
क्लबका महासचिव दिपक सुवेदीले मानवीय र भौतिक विकासमा क्लबको नेतृत्वलाई स्थानीय समुदाय, नागरिक समाज, सामाजिक सङ्घसंस्था, आमा समूह र टोल विकास संस्थाको सहकार्यले अझ सशक्त बनाएको बताउँदै सबैप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।
उहाँका अनुसार क्लबको सक्रियतामा ९ लाख ५० हजार रुपियाँ लागतमा प्रहरी चौकीको भवन पुनःनिर्माण, रङ्गरोगन, किचन सामग्री व्यवस्थापन लगायतका काम सम्पन्न भएका हुन् ।
कार्यक्रममा ट्राफिक प्रहरी सहायक निरीक्षक दिलिप आले, स्थानीय अगुवाहरू र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
२०४४ सालमा स्थापना गरिएको छोरेपाटन प्रहरी चौकी जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको थियो ।
डेभिजफल क्लबको नेतृत्वमा स्थानीय श्रमदान र सामुदायिक पहलबाट पुनःनिर्माण गरिएको प्रहरी चौकी २०८२ असोज ५ गते हस्तान्तरण गरिएको स्थानीय समाजसेवी हिमलाल उपाध्ययले जानकारी दिनु भयो ।
