विराटनगर। मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न दोस्रो मोरङ जिल्ला स्तरीय आईटीएफ प्रतियोगिताको उपाधि डाँगीहाट आईटीएफ तेक्वान्दो डोजाङले जितेको छ।
विराटनगरमा २०८२ असार २१ गते सम्पन्न प्रतियोगितामा सात स्वर्ण जित्दै डाँगीहाटले उपाधि जितेको हो।
डाँगीहाट डोजाङ सात स्वर्णसहित ६ रजत र चार कास्य पदक जित्न समेत सफल भएको छ । दोस्रो स्थानमा रहन सफल विराटनगर महानगरपालिका वडा नं १० आईटीएफ तेक्वान्दो डोजाङले ६ स्वर्णसहित ६ रजत र चार कास्य जितेको छ ।
तेस्रो स्थानको युमी स्कुल आईटीएफ तेक्वान्दो डोजाङले चार स्वर्ण, ६ रजत र चार कास्य जित्न सफल भएको मोरङ जिल्ला आईटीएफ तेक्वान्दो सङ्घका उपाध्यक्ष ओम श्रेष्ठले बताउनु भयो।
प्रतियोगितामा विजयी खेलाडी र टिमलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम), नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष प्रविणकुमार कार्की, नेपाल खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष रोहित कोइराला, उद्योगी अरुण राठीलगायतले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गर्नु भएको थियो।
प्रतियोगितामा मोरङ जिल्लामा सात डोजाङबाट विभिन्न तौल समूहको स्पर्धामा ८० जना खेलाडीको सहभागिता रहेको थियो।