मानव आवाज

२०८३ असोज १० गते
00: 00: 00
२०८३ असोज १० गते

भोटेकोशी बाढीको एक महिना: क्षति ४ खर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब अनुमान

काठमाडौँ । भोटेकोशी नदीमा विनाशकारी बाढी आएको एक महिना पुगेको छ । २०८३ भदौ १० गते बिहान ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा आएको हिमपहिरोपछि भोटेकोशी-त्रिशूली-नारायणी नदी करिडोरमा आएको गेग्रानसहितको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार गरिएको द्रुत क्षति तथा आवश्यकता आँकलन (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट  ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपियाँ बराबरको भौतिक क्षति तथा आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान छ ।

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि  ७ खर्ब २३ अर्ब ३१ करोड ५३ लाख रुपियाँभन्दा बढी आवश्यक पर्ने आँकलन गरिएको छ ।

आरडीएनए प्रतिवेदनअनुसार आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनरुत्थानका लागि मात्रै ८ अर्ब ७३ करोड ५० लाख रुपियाँ आवश्यक पर्नेछ ।

दीर्घकालीन पुनरुत्थान तथा पुनर्निर्माणका लागि भने ठूलो स्रोत परिचालन गर्नुपर्ने देखिएको छ ।

बाढीले ७ हजार ५ सय ७० निजी घरमा क्षति पुर्‍याएको छ । यस्तै, ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक तथा धार्मिक सम्पदा प्रभावित भएका छन् ।

विद्यालयतर्फ ११ ओटा पूर्ण र सात ओटा आंशिक रूपमा क्षतिग्रस्त भएको विवरण आरडीएनए प्रतिवेदनमा उल्लेख छ ।

पूर्वाधारतर्फ पनि बाढीको क्षति भयावह छ । ६९ किलोमिटर सडक क्षतिग्रस्त भएको छ भने ३७ ओटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ ओटा बाढीले बगाएको छ ।

६८ ओटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ । बाढीबाट ७ सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना तथा करिब २४ मेगावाट क्षमताका पाँच सौर्य ऊर्जा प्लान्ट प्रभावित भएका छन् ।

उत्पादन तथा व्यवसायिक क्षेत्रमा समेत बाढीको प्रभाव परेको छ । १ हजार ८ सय ६ हेक्टर कृषि बाली प्रभावित भएको छ भने पशुपालन, पंक्षीपालन तथा माछापालनमा पनि क्षति पुगेको छ ।

१७ बैङ्क शाखा र करिब ४ हजार ८ सय व्यापारिक प्रतिष्ठान प्रभावित भएको प्रारम्भिक विवरण छ ।

मानवीय क्षतितर्फ भने सरकारी विवरण समयअनुसार अद्यावधिक भइरहेको छ । पछिल्लो सार्वजनिक विवरणमा मृतक तथा फेला परेका पार्थिव अवशेष र सम्पर्कविहीन व्यक्तिको सङ्ख्या फरकफरक समयमा अद्यावधिक भएको देखिन्छ ।

पछिल्लो प्रकाशित विवरणमा १ हजार ४ सय ५१ शव वा पार्थिव अवशेष फेला परेको र ५ हजार ७ सय ५ जना सम्पर्कविहीन रहेको उल्लेख छ ।

एक महिनापछि पनि बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन् ।

क्षतिग्रस्त सडक तथा पुल सञ्चालनमा ल्याउने, झोलुङ्गे पुल पुनर्निर्माण गर्ने, विद्युत् तथा खानेपानी संरचना पुनःस्थापना गर्ने र प्रभावित परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्ने कामलाई प्राथमिकतामा राखिएको छ ।

भोटेकोशी बाढीले तत्कालीन राहतभन्दा निकै ठूलो दीर्घकालीन पुनर्निर्माणको चुनौती थपेको छ ।

प्रारम्भिक आँकलनमै ४ खर्बभन्दा बढीको क्षति र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्बभन्दा बढी आवश्यक देखिएपछि प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनु सरकारका लागि ठूलो आर्थिक तथा व्यवस्थापकीय चुनौती बनेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार