रुद्रबहादुर खड्का, सिन्धुली ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिन्धुली निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल (राजन) ले आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका दाहालले पूर्वाधार विकासदेखि कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत र पर्यटन प्रवर्द्धनसम्मका विस्तृत योजना सार्वजनिक गर्नुभएको हो ।
दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा, समृद्धि र समाजवाद निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संविधानको मर्मअनुसार आवश्यक ऐनकानुन निर्माण, प्रभावकारी कार्यान्वयन तथा समयानुकूल संशोधनका लागि पहल गर्ने बताउनु भयो ।
संसद विघटनका कारण अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूलाई पूर्णता दिने उहाँको मुख्य उद्देश्य रहेको उल्लेख छ ।
पूर्वाधार विकासतर्फ पालिका सदरमुकामदेखि वडा सदरमुकामसम्म सडक स्तरोन्नति गर्ने, निर्माणाधीन सडक आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्ने तथा ग्रामीण सडक निर्माणमा तीनै तहका सरकारबिच समन्वय बढाउने योजना अघि सारिएको छ ।
कमलामाई नगरपालिकालगायत आवश्यक स्थानमा रिङरोड निर्माण, दुम्जा-लालबन्दी सडक सम्पन्न गर्ने, आवश्यकता अनुसार पक्की पुल निर्माण तथा खोला–नदी नियन्त्रणका कार्य अघि बढाइने प्रतिबद्धता जनाइएको छ ।
राष्ट्रिय प्राथमिकताका आयोजनाअन्तर्गत सुनकोशी–मरिण डाइभर्सन, कोखाजोर जलाशययुक्त आयोजना र चियावारी–खुर्कोट सुरुङ मार्गलाई समयमै सम्पन्न गराउन पहल गर्ने दाहालले बताउनु भयो ।
साथै मरिणस्थित राँगाको मासु निर्यात योजनालाई अघि बढाउने पनि उहाँको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।
कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणमा जोड दिँदै अन्न, तरकारी, जडिबुटी लगायत उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरी व्यावसायिकता प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरिएको छ ।
स्वास्थ्यतर्फ कमलामाई नगरपालिका-६ मा मिनी ट्रमा सेन्टर निर्माण गर्ने, विपन्न नागरिकका लागि सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउने तथा “एक घर-एक धारा” कार्यक्रममार्फत स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, शैक्षिक हब निर्माणमा पहल गर्ने तथा युवाहरूका लागि अवसर सिर्जना गर्ने योजना पनि समेटिएको छ ।
भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबास तथा किसान–मजदुरका समस्या समाधानका लागि पहल गर्ने दाहालको प्रतिबद्धता छ ।
पर्यटन विकासतर्फ सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी र माइस्थान मन्दिरलगायत ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, पुनर्निर्माण तथा पर्यटन हबका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।
उम्मेदवार दाहालले क्षेत्र नं. २ का सम्पूर्ण मतदातालाई तारा चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।
उहाँले जनताको विश्वास र साथ पाएमा सिन्धुलीको समग्र विकासमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।