ललितपुर । माध्यमिक तहको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र स्रोत सामग्रीमा मानव अधिकार शिक्षाको अवस्था कस्तो छ भन्ने विषयमा ललितपुरमा शैक्षिक अन्तरक्रिया भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा र पाठ्यक्रम विकास केन्द्रको समन्वयमा भइरहेको अन्तरक्रियामा पाठ्यपुस्तक लेखक, सामाजिक अध्ययन पाठ्यक्रम निर्माण कार्यदलका सदस्य, पाठ्यक्रम विज्ञ तथा मानव अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको छ।
अन्तरक्रियाको सहजीकरण गर्दै आयोगका सहसचिव नवराज सापकोटाले विद्यालय तहको पाठ्यक्रममा मानव अधिकार शिक्षा समावेशीकरणको अवस्था र कार्यान्वयनका पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल र पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले मानव अधिकार शिक्षा विषयप्रति संवेदनशील भएर पाठ्यक्रम र सामग्रीमा समेट्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अनुसार अन्तरक्रियाबाट प्राप्त सुझाव र छलफलका निष्कर्षहरू सम्बन्धित सरोकारवाला निकायमा सिफारिस गरिनेछ, जसले मानव अधिकार शिक्षालाई अझ प्रभावकारी रूपमा पाठ्यक्रममा समावेश गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।