मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

लेखनाथ महोत्सवमा दर्शकको घुइँचो

लोपोन्मुख रत्यौलीको पुनर्जागरणमा विशेष आकर्षण

पोखरा । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने नाराका साथ सञ्चालन भइरहेको २१ औँ लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य घुइँचो लागेको छ ।

महोत्सवको तेस्रो दिन २०८२ पुस ५ गते सार्वजनिक विदा परेकाले स्थानीय आमा समूह, सामाजिक सङ्घ–संस्था तथा विद्यालयका विद्यार्थीहरूको बाक्लो उपस्थितिका कारण दर्शक सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समिति संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिनु भयो ।

अधिकारीका अनुसार सो दिन मात्र करिब ४० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने १ करोड ५० लाख रुपियाँ बराबरको आर्थिक कारोबार भएको छ ।

नेपाली समाजमा विवाहको अवसरमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसको संरक्षण तथा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना हुँदै आएको अध्यक्ष अधिकारीको भनाइ छ ।

प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सव सुरु भएदेखि तेस्रो दिनसम्म करिब १ लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् ।

त्यस्तै, बाल उद्यानतर्फ मात्र १० लाख रुपियाँभन्दा बढीको आर्थिक कारोबार भएको बाल उद्यान संयोजक भरत थापाले जानकारी दिनुभयो ।

महोत्सव गेटदेखि करिब ३ सय ३५ ओटा स्टल पार गर्दै कार्यक्रम स्थलसम्म पुग्न दर्शकलाई हम्मे–हम्मे पर्ने अवस्था सिर्जना भएको थियो ।

तेस्रो दिनको सांस्कृतिक कार्यक्रम अन्तर्गत

  • नृत्यतर्फ वडहरे गन्धर्व समाज,
  • विद्यालयस्तरीय कार्यक्रम अन्तर्गत आनन्द ज्योति मावि, गुरुकुल विद्याश्रम, भवानी कालिका मावि र लक्ष्मी आदर्श मावि,
  • रत्यौलीतर्फ गायत्री आमा समूहले प्रस्तुति दिएका थिए ।

कलाकारतर्फ लोकदोहोरीमा खुमन अधिकारी, निरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ, मधु थापा मगर तथा सुगम संगीततर्फ रचना रिमाल र डेविड शङ्करको प्रस्तुति रहेको थियो ।

महोत्सवमा राष्ट्रिय मानव अधिकार आयोगसहित औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बिउबिजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल र अटोमोबाइल प्रदर्शनी सञ्चालनमा छन् ।

उद्योग, व्यापार, व्यवसाय, सेवामूलक तथा सूचनामूलक गरी कुल ३ सय ३५ ओटा स्टल रहेको महोत्सवमा पर्यटन प्रवर्धन तथा वित्तीय सेवासम्बन्धी जानकारीसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

Author

Related News