सिन्धुली । हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा सिन्धुलीका विभिन्न शिवालयमा २०८३ भदौ २९ गते बिहानैदेखि महिला भक्तजनको उल्लेख्य भीड लागेको छ ।
निराहार तथा निर्जल व्रत बसेका महिलाहरूले भगवान् शिवको पूजा-आराधना गर्दै आफ्नो तथा परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका छन् ।
तीजका अवसरमा जिल्लाका प्रसिद्ध शिवालयहरू आदिलिङ्गेश्वर, कुशेश्वर महादेव, दुम्जास्थित महादेव, बाहुनतिल्पुङस्थित बैकटेश्वर महादेव, रामेश्वरधाम, मधुगङ्गा, सुलिभञ्ज्याङ तथा कमलामाई नगरपालिका-९ स्थित बथानचौडी शिव मन्दिरलगायतमा बिहानैदेखि पूजा गर्न आउने महिला भक्तजनको भीड लागेको हो ।
रातो, हरियो तथा विभिन्न रङका तीजका पहिरनमा सजिएका महिलाहरू पूजा सामग्रीसहित शिवालय पुगेका थिए ।
उनीहरूले भगवान् शिवलाई बेलपत्र, फूल, अक्षता, धूप, दीप तथा फलफूल चढाएर श्रद्धापूर्वक पूजा गरेका छन् ।
विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य तथा पारिवारिक सुखसमृद्धिको कामना गर्दै व्रत बसेका छन् भने अविवाहित युवतीहरूले असल तथा योग्य वर प्राप्तिको कामना गर्दै भगवान् शिवको आराधना गरेका छन् ।
शिवालय परिसरमा पूजाअर्चनासँगै तीजका भाकामा नाचगान गर्ने महिलाहरूको उत्साहसमेत देखिएको छ ।
समूहसमूहमा भेला भएका महिलाहरूले परम्परागत तथा लोकगीतमा नाच्दै तीजको उल्लास साटासाट गरेका छन् ।
धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको तीज पर्वले महिलाबीच भेटघाट, मनोरञ्जन र सामाजिक सद्भाव बढाउनसमेत सहयोग पुर्याउने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।
तीजका अवसरमा शिवालयमा भक्तजनको भीड बढेसँगै पूजा व्यवस्थापन तथा सुरक्षाका लागि स्थानीय मन्दिर व्यवस्थापन समिति र सम्बन्धित निकायसमेत सक्रिय भएका छन् ।
दिनभर जिल्लाका विभिन्न शिवालयमा पूजा–आराधना तथा तीजको उल्लासपूर्ण वातावरण रहने अपेक्षा गरिएको छ ।
हरितालिका तीजलाई नेपाली हिन्दू महिलाहरूले विशेष श्रद्धा, आस्था र उत्साहका साथ मनाउँदै आएका छन् ।