मानव आवाज

२०८३ बैशाख २९ गते
00: 00: 00
२०८३ बैशाख २९ गते

पोखरामा सिर्जना उत्सव सम्पन्न : कला, साहित्य र सङ्गीतको सङ्गम

पोखरा । पोखरामा कृति परिचर्चा, गीत, सङ्गीत, नृत्य, अभिनय तथा रचना वाचनसहित सिर्जना उत्सव सम्पन्न भएको छ ।

नेपाली लेखक सङ्घ कास्कीको आयोजनामा शुक्रबार “फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवं सिर्जना उत्सव” कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका लेखक फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्तिलाई कृतिमार्फत जीवन्त बनाएको बताउनुभयो ।

उहाँले उक्त कृतिमा सात सालको कथा मात्रै नभई राणा शासन, वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शङ्खघोषसमेत समेटिएको चर्चा गर्नुभयो ।

हिन्दी भाषामा लेखिएको उक्त कृतिलाई तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेपछि यसको महत्व अझ बढेको उहाँको भनाइ थियो । कृति पढ्दा कतै खुसी र कतै भावुक बनाउने घटनाहरू समेटिएको पनि न्यौपानेले उल्लेख गर्नुभयो ।

नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष कमल पौडेल ‘अथक’ले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सात सालको कथा साहित्य, पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनको त्रिवेणीयुक्त अमर दस्तावेज भएको बताउनुभयो ।

उहाँले यसअघि नै उक्त कृतिमाथि परिचर्चा गर्ने इच्छा भए पनि अहिले आएर पूरा भएको उल्लेख गर्नुभयो ।

अहिले समाज अवसरवादी सोचमा अल्झिएको अवस्थामा सच्चा क्रान्तिको कथाले गलत प्रवृत्ति र पात्रहरूलाई परास्त गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

संस्थालाई भर्‍याङ बनाएर मानसम्मान र अवसर खोज्ने प्रवृत्तिले नेपाली साहित्यमा धमिलोपन ल्याइरहेका बेला गौरवपूर्ण इतिहास बोकेको कृतिमाथि परिचर्चा गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले राष्ट्रभावयुक्त अभिनय प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी शङ्कर ज्ञवाली, धर्मराज अल्पायु, गायत्री पराजुली, ढुण्डीराज ज्ञवाली, बसन्त चालिसे, लक्ष्मण थापा, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी थापा, डा. चन्द्रबहादुर गुरुङ र चन्द्रावती वाग्ले लगायतले गीत, गजल, मुक्तक तथा कविता वाचन गर्नुभएको थियो ।

कमल पौडेल ‘अथक’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रोशन तिमिल्सिनाले गर्नुभएको थियो ।

Author

Related News